कृषि, वन तथा वातावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। अब जमिनको क्षेत्रफलसँगै उत्पादनको अनुपातलाई पनि मल वितरणको आधार बनाइनेछ।
धान खेती गर्ने कृषकलाई रासायनिक मलको अभाव हुन नदिन यो निर्णय गरिएको हो। देशभर करिब एक लाख ४५ हजार मेट्रिकटन रासायनिक मल मौज्दात छ।
युरिया र डिएपी गरी ४० हजार मेट्रिकटन मल छिट्टै आयात गर्ने प्रक्रिया अघि बढेको छ। सडक मार्गबाट थप चार हजार ५८५ मेट्रिकटन मल आउने क्रममा छ।
किसानलाई मल बिक्री कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोमार्फत गरिनेछ। आधिकारिक डिपोबाट मात्र मल खरिद गर्न कृषकलाई आग्रह गरिएको छ।
सरकारले चालू आर्थिक वर्षमा छ लाख मेट्रिकटन मल आयात गर्ने लक्ष्य राखेको छ। यसका लागि २८ अर्ब ८२ करोड १४ लाख रूपैयाँ विनियोजन गरिएको छ। हालसम्म चार लाख ९१ हजार ३०० मेट्रिकटन मलको टेण्डर प्रक्रिया सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय बजारमा उत्पादन लागत बढेकाले रासायनिक मलको मूल्य बढेको छ। मन्त्रालयले गुणस्तरहीन मलको कारोबार र कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ। आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्र मल खरिद गर्न कृषकलाई भनिएको छ।
