मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका–२, माथिल्लो बैसरीमा आज दिउँसो पहिरो खसेपछि ७६ किलोमिटर दूरीको यो सडकमा सिधा यातायात सम्पर्क टुटेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार पहिरोले सडकको दुवैतर्फ चारवटा गाडी च्यापिएका छन्। सुरक्षाकर्मीको टोलीले फसेका यात्रुहरूको उद्धार गरिसकेको छ। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
सडक विभाग र बेनी–जोमसोम सडकखण्डको मर्मतसम्भारमा संलग्न निकायहरूले पहिरो हटाउने तयारी गरिरहेका छन्। यस पहिरोका कारण मुस्ताङतर्फ जाने र आउने सम्पूर्ण यातायात सेवा ठप्प भएको छ।
