नेपालमा मनसुनी विपद्का घटनाको खोज तथा उद्धारका लागि सरकारले १३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीनवटै सुरक्षा निकायका जनशक्ति आवश्यकताअनुसार परिचालित हुनेछन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले मनसुनी विपद्का लागि सम्पूर्ण तयारी गरिएको र राष्ट्रिय प्रतिकार्ययोजनासमेत लागू भइसकेको बताइन्। विभिन्न निकायलाई जिम्मेवारीसमेत तोकिएको छ।
मनसुनी विपद्का घटनामा खोज तथा उद्धारका लागि नेपाली सेनाका ७,५२४, नेपाल प्रहरीका १०,५८५ र सशस्त्र प्रहरीका १३४ गोताखोरसहित ८,११० जना तयारी अवस्थामा छन्। यी जनशक्ति ७७ वटै जिल्लामा आवश्यकताका आधारमा परिचालन गरिनेछन्।
यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने जल तथा मौसम विज्ञान विभागको आकलन छ। यस आधारमा प्राधिकरणले ५१,८६८ घरपरिवारका २,२६,६६१ जना प्रभावित हुने अनुमान गरेको छ।
यद्यपि, कम वर्षा भए पनि निश्चित क्षेत्रमा असर गर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ।
