रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना भएको छ। चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मंगलबार केन्द्रको उद्घाटन गरे।
यो केन्द्रले किसानलाई मौसमको विभिन्न पूर्वानुमान उपलब्ध गराउनेछ। तापक्रम, वर्षा, हावाको गतिसहित मौसमसम्बन्धी तथ्याङ्क यहाँ सङ्कलन गरिनेछ।
मौसमको अवस्था हेरेर बाली कहिले लगाउने, सिँचाइ कहिले गर्ने र मल तथा औषधि प्रयोगबारे केन्द्रले किसानलाई जानकारी दिनेछ।
जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवले किसानको बाहुल्य रहेको रौतहटमा यस्ता केन्द्र हरेक पालिकामा आवश्यक रहेको बताए।
जल तथा मौसम विभाग मधेस प्रदेशका प्रमुख राजीवकुमार झाले हरेक पाँच किलोमिटरको दूरीमा केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए। उनले वन संरक्षण र पूर्वाधार विकासमा पनि केन्द्रको भूमिका हुने बताए।
प्रमुख झाले हालको अवस्थामा केन्द्रबाट ८० प्रतिशतसम्म मौसम प्रक्षेपण मिल्ने गरेको जानकारी दिए। केन्द्रले असिना, खडेरी, अत्यधिक वर्षा वा बाढीजस्ता प्रकोपबारे पूर्वसूचना प्रवाह गर्नेछ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले केन्द्रले मानवीय क्षति न्यूनीकरणमा सहयोग गर्ने विश्वास व्यक्त गरे।
