खिङ–घराम्दी सडक अलपत्र: ठेकेदारको बेवास्ताले करोडौं बजेट फ्रिज
म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको रणनीतिक महत्वको खिवाङ–घराम्दी सडक योजना अलपत्र छ। गत आर्थिक वर्षमा निर्माणको जिम्मा पाएको एसएण्डएस कन्ट्रक्सनले काम छाडेपछि चालु आर्थिक वर्षको रु एक करोड बजेट फ्रिज हुने अवस्थामा छ।
अन्नपूर्ण–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनका अनुसार, गत असारमा रोकिएको योजनाका ठेकेदार चालु आव सकिन लाग्दासमेत फर्किएका छैनन्। ‘अघिल्लो ठेक्का नसक्दासम्म नयाँ लगाउन नपाउने नीतिले बजेट कार्यान्वयन रोकियो,’ उनले भने।
करिब दुई किलोमिटर सडक मार्ग खुलाउन एसएण्डएस कन्ट्रक्सनले ५५ लाख ४० हजार ८८१ रुपैयाँमा ठेक्का लिएको थियो। ५५.५१ प्रतिशत भौतिक प्रगति भएको योजनामा गत साउनयता काम ठप्प छ।
वडाध्यक्ष पुर्जाले लागत अनुमानभन्दा ४५ प्रतिशत कममा ठेक्का पाएको कम्पनीले घाटा हुने भएपछि पन्छिन खोजेको आरोप लगाए।
गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडालाई जोड्ने यो सडक राष्ट्रिय राजमार्गको वैकल्पिक मार्ग भएकाले प्राथमिकतामा थियो।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनले पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआउने निर्माण व्यवसायीको धरौटी जफत गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको बताए।
निर्माण व्यवसायीले भौगोलिक विकटता, इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण काम प्रभावित भएको प्रतिक्रिया दिए।
खिवाङदेखि घराम्दी, टिकोट हुँदै राम्चेसम्म जोड्ने यो सडक कालीगण्डकी कोरिडोर, म्याग्दी, पर्वत र कास्कीलाई जोड्ने वैकल्पिक मार्ग हो।
काम रोकिँदा खिवाङ, घराम्दी, टिकोट र राम्चेका करिब १५०० घरपरिवार प्रभावित छन्। स्थानीयवासीलाई दैनिक उपभोग्य सामान ढुवानी र स्वास्थ्य सेवा लिन समस्या छ।
गाउँपालिकाले एसएण्डएस कन्ट्रक्सनलाई वैशाख १५ गतेसम्म काम सुरु गर्न अन्तिम ताकेता दिएको छ। तोकिएको समयमा काम सुरु नभए धरौटी जफत गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने अध्यक्ष पुनले बताए।
