केन्द्र सरकारको निर्णयमाथि उपत्यका मेयर फोरमको आपत्ति
केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित पारेको भन्दै उपत्यका मेयर फोरमले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। फोरमले यो निर्णय संविधान र शिक्षा ऐनको मर्मविपरीत भएको निष्कर्ष निकालेको छ।
स्थानीय तहको अधिकारमा हस्तक्षेपको ठहर
ललितपुरस्थित महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारको यो कदमले आधारभूत शिक्षामा स्थानीय तहलाई संविधानले दिएको अधिकारमाथि हस्तक्षेप भएको ठहर गरेको हो। बैठकले यस विषयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।
शिक्षा ऐनको मर्मविपरीत निर्णय
मेयर फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानुनी अधिकारमाथि चोट पुगेको बताए। उनले शिक्षा ऐनअनुसार विद्यालय वर्षमा कम्तीमा २ सय २० दिन सञ्चालन हुनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै अप्रत्याशित रूपमा आइतबार बिदा दिँदा पठनपाठन प्रभावित भई विद्यालयहरू १ सय ९० दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्था सिर्जना भएको बताए।
उनले आवश्यक परे कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिए। महर्जनले भने, ‘हामीले दुइटा विषयको छलफल गरेर निर्णय गर्यौँ। नम्बर १ मा अहिले यो विद्यालयहरू आइतबार बन्द गर्ने विषयलाई पुनर्विचार गर्न सरकारलाई आग्रह गर्ने। आइतबार विदा शिक्षा ऐनमा २२० दिन विद्यालय खोल्नुपर्छ भन्ने छ। सोही बमोजिम सबै विद्यालयहरूले आफ्नो क्यालेन्डर बनाइसकेको छन्, अप्रत्यासित रूपमा नेपाल सरकारको तर्फबाट आइतबार पनि बिदा गर्ने भन्दाखेरी पाठ्य पुस्तक अध्ययन अध्यापन लगभग १९० दिन पनि नहुने भयो। यसो हुनाले नेपाल सरकारलाई यसमा पुनर्विचार गर्नका लागि अनुरोध गर्ने निर्णय भएको छ।’
सरकारी भवनहरूको स्वामित्व हस्तान्तरणको माग
त्यस्तै, बैठकले स्थानीय तहअन्तर्गतका विभिन्न सरकारी भवनहरूको स्वामित्व र व्यवस्थापन स्थानीय तहलाई नै हस्तान्तरण गर्न पनि सरकारसँग माग गरेको छ। ‘दोस्रो अहिले यो जति पनि स्थानीय पालिकाहरू मातहत पालिकाहरूको भवन, वडा कार्यालयको भवन, त्यस्तै हाम्रो हस्पिटल र समाज कल्याण सम्बन्धी भवनहरू छन्, ती भवनहरूको सन्दर्भमा अब एक पटकको निम्ति यसको स्वामित्व हस्तान्तरण अर्थात एउटा केही व्यवस्थापन गरेर तत् तत् जिल्लाबाट नै यसको स्वामित्व अर्थात् यसको व्यवस्थापन गर्ने गरीकन कार्य अगाडि बढाउनका लागि नेपाल सरकारको ध्यानाकर्षण गर्ने हाम्रो निर्णय भयो,’ महर्जनले थपे।
पुनर्विचारको लागि सरकारलाई आग्रह
उपत्यका मेयर फोरमले केन्द्र सरकारको आइतबार विद्यालय बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न नेपाल सरकारलाई औपचारिक रूपमा आग्रह गरेको छ। यस सन्दर्भमा थप छलफल र ज्ञापनपत्र बुझाउने जस्ता कदम चाल्ने तयारी छ।
