प्रधानमन्त्रीले संसदमा खुलाए विद्युत् कर र भिजिट भिसा दुरुपयोगको रहस्य
काठमाडौं । प्रधानमन्त्रीले विद्युत् प्रणालीको क्षमता अभिवृद्धि गर्न ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको स्पष्ट पारेका छन्। उनले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी पनि गराएका छन्।
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीले भने, ‘तुरुन्तै विद्युतीय युगमा जान सकिने अवस्था छैन। देशका हरेक भान्छामा बिजुलीबाट खाना बनाउने हो भने, सबै ट्रान्सफर्मर र सवस्टेसनको क्षमताले धान्दैन।’
उनले थपे, ‘क्षमता विकासका लागि पैसा चाहिने र त्यसकै लागि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई पाँच प्रतिशत भ्याट लगाइएको हो। उठेको रकम देशभरका ट्रान्सर्फर, प्रशारणलाइन र सबस्टेसनको सुधारमा प्रयोग गरिनेछ।’
त्यसैगरी, ‘भिजिट भिसा’मा गएर काम गर्ने अनुमति पाएपछि कामदार भिसा लिन नेपाल आउनुपर्ने बाध्यता छ। विदेशमै बसेर भिसा कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको प्रधानमन्त्रीले अवगत गराए।
