दिक्तेल–चखेवा सडकखण्डको माम्खामा निर्माणाधीन ग्याबिन वाल (तारजालीसहितको पर्खाल) बनिनसक्दै भासिएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा दोस्रो पटक निर्माणाधीन ग्याबिन वाल अन्तिम चरणमा पुगेर भासिएको हो।
सडक डिभिजन कार्यालय हर्कपुरको ‘हाइवे इम्प्रोभमेन्ट वर्कस’ योजनाअन्तर्गत हालिएको ग्याबिन वाल यही जेठ १५ गतेदेखि भासिन थालेको स्थानीयले बताएका छन्। निर्माण कम्पनी दोभान निर्माण सेवा धनकुटाले काम अन्तिम चरणमा पुर्याएको अवस्थामा सकिनुअगावै वालको बीच भाग भासिएको छ।
ठेकेदार कम्पनीका अनुसार, तारजाली भर्दै सडकसम्म अग्लो पर्खाल निकालिएको र त्यसमाथि माटो फिलिङ गरेर सम्याउने काम सक्नुअगावै पर्खाल भासिएको हो। माम्खामा भित्तातिरको चट्टान काटेर सडक चौडा बनाए मात्र दीर्घकालीन समस्या समाधान हुने स्थानीयको भनाइ छ।
ग्याबिन वाल भासिएपछि त्यसभन्दा तलका बस्तीमा रहेका भीमराज राई, देवेन्द्र राई, हर्कमान राई, लोकेन्द्र राई, हेमराज राई र नरबहादुर राईका घर पहिरोको उच्च जोखिममा परेका छन्। मकैबारीसमेत चर्किएको छ।
स्थानीयले बलियो जग नभएका कारण वा कमजोरी भू–बनोटका कारण पर्खाल भासिएको आरोप लगाएका छन्। यसअघि कालोपत्रकै चरणमा सो स्थानमा हालिएको आरसिसी वाल पनि भासिएको थियो।
सडक डिभिजन हर्कपुरका सिनियर डिभिजन इन्जिनियर सविन जोशी नेतृत्वको टोलीले भासिएको पर्खालको स्थलगत निरीक्षण गरेको छ। इन्जिनियर जोशीले कमजोर भू–बनोटका कारण पर्खाल भासिएको प्रतिक्रिया दिए। उनले ठेकेदारको त्रुटी नदेखिएको र विज्ञसँग सल्लाह गरी दीर्घकालीन समाधानको उपाय खोजिने बताए।
दोभान निर्माण सेवाले गत वैशाख ६ गतेसम्ममा सक्नेगरी विसं २०८२ मङ्सिर ४ गते ठेक्का सम्झौता गरेको थियो। काम सम्पन्न नभएपछि असार १५ गतेसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय हर्कपुरले जनाएको छ। यसका लागि रु दुई करोड ७९ लाख ७७ हजार ९१२ मा ठेक्का लगाइएको थियो।
यसैबीच, दिक्तेल–चखेवा सडकखण्डकै पङ्खुखोलामा निर्माणाधीन पक्की पुल अलपत्र छ। पुल अभावमा वर्षाद्मा यातायात अवरुद्ध हुने समस्या टार्न श्रम संस्कृति पार्टीका कार्यकर्ताले काठको पुल निर्माण गरेका छन्। यस्तै, सेखुवाखण्डको १० किलोमिटर कालोपत्रमा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ।
