NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बीमाको लोभमा सुन पसलमा चोरीको नाटक: सञ्चालकसहित २ पक्राउ

बुटवलको तिनाउ सुनचाँदी पसलका सञ्चालक दीपक बिक र कर्मचारी नवीन बिक पक्राउ परेका छन्। बीमा रकम दाबी गर्न आफ्नै पसलमा चोरी भएको झुटो उजुरी दिएको उनीहरूमाथि आरोप छ। प्रहरी अनुसन्धानले यो योजनाबद्ध ठगी र हिसाबबाट बच्ने प्रयास भएको निष्कर्ष निकालेको छ।
Arjun Basnet
Arjun Basnet
10 June 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
सुन पसल चोरी नाटक
Share:

बीमा रकम हात पार्ने लोभमा आफ्नै सुनचाँदी पसलमा चोरी भएको नाटक रचेको आरोपमा बुटवलका एक व्यवसायी र उनका कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन्। बुटवल उपमहानगरपालिका–५, अमरपथस्थित ‘तिनाउ सुनचाँदी पसल’का सञ्चालक दीपक बिक र कर्मचारी नवीन बिकलाई प्रहरीले योजनाबद्ध रूपमा झुटो चोरीको घटना सिर्जना गरेको आरोपमा पक्राउ गरेको हो।

गत जेठ १७ गते सञ्चालक बिकले पसलबाट १ करोड ४६ लाख १४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गहना चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। उनले घटना हुँदा आफू पोखरामा रहेको र पसलको सिसिटिभी प्रणाली बिग्रिएको दाबी गरेका थिए।

तर, सूक्ष्म अनुसन्धानमा प्रहरीले चोरीको कथामा अनेक शंकास्पद पक्ष फेला पारेको छ। अनुसन्धानबाट वास्तविक चोरी नभई बीमा रकम दाबी गर्ने र सुनचाँदी तथा नगदको हिसाब–किताबबाट बच्न योजनाबद्ध रूपमा चोरीको दृश्य तयार पारिएको निष्कर्षमा प्रहरी पुगेको छ।

प्रहरी स्रोतका अनुसार रातको समयमा च्यानल गेटको ताला खोली बाहिरबाट चोरी भएको जस्तो देखाउने प्रयास गरिएको थियो। लकरमा विभिन्न चाबी प्रयोग गरी जबर्जस्ती खोल्न खोजिएको जस्तो दृश्यसमेत बनाइएको अनुसन्धानमा खुलेको छ। करिब चार दशकदेखि सञ्चालनमा रहेको उक्त पसलमा भएको भनिएको चोरी अन्ततः ‘भित्री योजनाको खेल’ भएको प्रहरीको दाबी छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले दुवै जनाविरुद्ध आपराधिक विश्वासघात सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार