NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रवि लामिछानेविरुद्ध सङ्गठित अपराधको अभियोग खारेज, ठगी मुद्दा कायमै

• पर्सा जिल्ला अदालतले रवि लामिछानेविरुद्धको सङ्गठित अपराधको अभियोग खारेज गरेको छ। • सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहनेछ । • सङ्गठित अपराधको अभियोग हटेपछि मिलापत्र र रकम फिर्ता प्रक्रिया सहज हुने अपेक्षा छ ।
Kamala Devi
Kamala Devi
10 June 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
रवि लामिछाने सहकारी ठगी
Share:

पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधको अभियोग खारेज गरेको छ । जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले मंगलबार अभियोगपत्र संशोधन गर्न अनुमति दिँदै सहकारी ठगीसम्बन्धी अभियोगलाई मात्र कायम राख्ने आदेश दिएको हो ।

वीरगञ्जस्थित सानो पाइला सहकारी संस्थाका बचतकर्ताहरूले ठगीको उजुरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढेको थियो । तत्कालीन मन्त्रिपरिषद्को निर्णय तथा महान्यायाधिवक्ताको कार्यालयको निर्देशनमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराधको अभियोग पनि लगाइएको थियो ।

अदालतले महान्यायाधिवक्ताको स्वीकृतिमा दायर भएको अभियोग संशोधनको निवेदन कानूनसम्मत रहेको ठहर गरेको छ । आदेशअनुसार सहकारी ठगीसम्बन्धी अभियोग यथावत् रहनेछ भने सङ्गठित अपराधको अभियोग सबै प्रतिवादीका हकमा कायम रहने छैन ।

अभियोग संशोधनपछि पनि सहकारी ठगीसम्बन्धी दाबी यथावत् रहने भएकाले जाहेरवालाको हितमा प्रतिकूल असर नपर्ने अदालतले उल्लेख गरेको छ । सङ्गठित अपराधको अभियोग हटेसँगै पीडित र प्रतिवादीबीच मिलापत्र तथा बचतकर्ताको रकम फिर्ता हुने प्रक्रिया थप सहज बन्ने अदालतको ठहर छ ।

यसअघि कास्की जिल्ला अदालतले पनि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोग हटाउने निर्णय गरेको थियो । मुद्दाको सुनुवाइका क्रममा सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ता र प्रतिवादी लामिछानेका तर्फबाट अधिवक्ता दीपेन्द्र झा र चन्द्रिकाप्रसाद पटेलले बहस गरेका थिए ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार