मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

विपद् व्यवस्थापनमा ड्रोन प्रयोग: खरिद प्रक्रिया झन्झटिलो, ४५ दिन लाग्ने

गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापनमा प्रयोग हुने २०० केजी क्षमताको हेभी लिफ्टिङ ड्रोन खरिद प्रक्रिया ४५ दिन लाग्ने बताएका छन्। उनले खरिद प्रक्रिया लामो हुँदा मनसुन सकिने र प्रभावकारी काम गर्न बाधा पुग्ने गुनासो गरे। गृहमन्त्री गुरुङले गृह मन्त्रालयमा बजेट अभाव रहेको र यसका लागि सांसदहरूको सहयोग आवश्यक रहेको बताए।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
विपद् व्यवस्थापन ड्रोन खरिद
Share:
१९९

गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन र राहत वितरणमा प्रयोग गरिने आधुनिक प्रविधिको खरिद प्रक्रिया अत्यधिक झन्झटिलो रहेको बताएका छन् । बिहीबार बसेको एक समिति बैठकमा बोल्दै उनले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन उपलब्ध भए पनि सार्वजनिक खरिद ऐनका कारण खरिद प्रक्रिया लामो हुने गरेको गुनासो गरे ।

उनले नेपालमा पहिलो पटक सिन्धुपाल्चोक र काभ्रेमा हेभी लिफ्टिङ ड्रोनमार्फत राहत वितरण गरिएको स्मरण गराउँदै भने, ‘ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ । त्यो ड्रोन आउँदा मनसुन सकिइसक्छ । कस्तो खालको ऐन हो । काम गर्न सहज हुनेगरी ऐन संशोधन भएको भए केही गर्न सकिन्थ्यो ।’

गृहमन्त्री गुरुङले राज्य सञ्चालनमा सरकार र प्रतिपक्षबीचको विभाजनभन्दा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबै सांसदका सुझावलाई गम्भीरतापूर्वक लिइएको बताए । विपद् व्यवस्थापनजस्ता संवेदनशील क्षेत्रमा प्रभावकारी काम गर्न सबैको सहयोग अपरिहार्य रहेको उनको भनाइ छ ।

उनले मन्त्रालयमा बजेटको अभाव रहेको र चुनौतीपूर्ण जिम्मेवारी भए पनि स्रोत साधन अत्यन्तै सीमित रहेको गुनासो गरे । ‘मन्त्रालयसँग बजेटको अभाव छ । हामीलाई चुनौतीपूर्ण काममा पठाइएको छ तर साधन स्रोत भने अत्यन्तै न्यून छ,’ उनले भने, ‘संसद्मा माननीयज्यूहरूले गृह मन्त्रालयको बजेट वृद्धिका लागि आवाज उठाइदिनुभयो भने हाम्रा निकायहरूले अझ प्रभावकारी रूपमा काम गर्न सक्नेछन् ।’

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार