प्रधानमन्त्रीको अभिव्यक्तिले देशको राष्ट्रियता र स्वाभिमानमा आघात पुगेको भन्दै नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।
नेपाल औषधि थोक व्यवसायी संघको कार्यक्रममा बोल्दै पौडेलले नयाँ सरकार गठन हुँदा सुशासन र विकृतिको अन्त्य हुने अपेक्षा गरिएको बताए । तर, छोटो समयमै सरकारको कामकारबाहीमाथि प्रश्नचिह्न खडा भएको उनको भनाइ थियो ।
‘अत्यधिक विश्वास गरेको प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको शिर निहुरिएको छ । लज्जाबोध गर्नुपर्ने स्थिति छ । राष्ट्रियता र स्वाभिमानको मामिलामा देश रक्षात्मक बनेको छ,’ पौडेलले भने ।
उनले फौजदारी अभियोग र भ्रष्टाचारका मुद्दा खेपिरहेका व्यक्तिहरू सांसद पदमै कायम रहनु चिन्ताजनक भएको औंल्याए । यस्ता आरोपमा स्वतन्त्र छानबिन हुनुपर्नेमा आफैं समिति बनाएर प्रतिवेदन लुकाउने प्रवृत्तिले सुशासनमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो ।
सरकारले पारदर्शिता, जवाफदेहिता र सुशासनको मार्गमा अघि बढ्न नसके जनविश्वास थप कमजोर हुने चेतावनीसमेत पौडेलले दिए ।
