NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जैविक सुरक्षामा कडाइ: केरा, धनियाँ, एभोकाडोसहित आयातमा रोक

विदेशी हानिकारक रोग र किराबाट स्वदेशी कृषि प्रणाली जोगाउन नेपालले सीमा नाकामा क्वारेन्टाइन जाँच कडा पारेको छ। केरामा ‘पनामा रोग’, धनियाँमा ‘खपराज’ किरा र एभोकाडोमा ‘फाइटोप्थोरा पाल्मिभोरा’ जस्ता हानिकारक तत्व भेटिएपछि आयातमा रोक लगाइएको छ। भारतीय आँप आयातमा ‘हट वाटर ट्रिटमेन्ट’ जस्ता नयाँ जैविक सुरक्षा मापदण्ड लागू गरिएको छ।
Sarita Pandey
Sarita Pandey
13 June 2026, 10:17 am १ मिनेट पढाइ
आकार:
जैविक सुरक्षा आयात
Share:

विदेशी हानिकारक रोग र किराबाट स्वदेशी कृषि प्रणाली जोगाउन सरकारले सीमा नाकामा क्वारेन्टाइन जाँच कडा पारेको छ। यससँगै केरा, धनियाँ र एभोकाडोलगायतका केही कृषिजन्य सामग्रीको आयातमा रोक लगाइएको छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार विभिन्न मुलुकबाट आयात हुने कृषिजन्य सामग्रीमा हानिकारक रोग र जीव फेला परेपछि आयातमा रोक लगाउने तथा नयाँ मापदण्ड तोक्नेजस्ता कदम चालिएका छन्।

केरा खेतीमा ‘ब्ल्याक डेथ’ को सङ्कट

नेपालको अर्बौं रुपैयाँ बराबरको केरा खेतीलाई विनाशकारी ‘पनामा रोग’ (टिआर–४) बाट जोगाउन सरकारले कडा कदम चालेको छ। असोज २ गतेदेखि भारतबाट केरा आयातमा अनुमति पत्र (इम्पोर्ट पर्मिट) दिन रोक लगाइएको थियो। यस व्यवस्थालाई स्थानीय सरकारहरू मार्फत थप प्रभावकारी बनाइने भएको छ। ‘ब्ल्याक डेथ’ संज्ञा दिइएको यो रोगले एकपटक आक्रमण गरेपछि केराको सम्पूर्ण बगान नै सखाप पार्ने क्षमता राख्छ। नेपालको करिब १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा केरा खेती फैलिएको छ, जसमा कृषक र व्यवसायीहरूको १२ अर्ब रुपैयाँभन्दा बढीको लगानी छ। यस रोगको सङ्क्रमण देशव्यापी भएमा केरामा आत्मनिर्भर बन्ने सपना टुट्ने र हजारौँ किसान सुकुमबासी हुने अवस्था आउन सक्ने जोखिम छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले केरा बगानका लागि ‘जैविक सुरक्षा प्रणाली’ जारी गरेका छन्। छिमेकी मुलुकबाट अवैध रूपमा केराका बिरुवा भित्रिन नदिन स्थानीय प्रशासनलाई उजुरी गर्न र अवैध केरा नष्ट गर्न निर्देशन दिइएको छ।

चीनबाट आयातित धनियाँमा हानिकारक ‘खपराज’

चीनबाट नेपालतर्फ आयात गरिएको ठुलो परिमाणको धनियाँको दानामा हानिकारक ‘खपराज’ किरा भेटिएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले उक्त खेपलाई भन्सार नाकामै रोकेको छ। तातोपानी नाका हुँदै भित्रिएको करिब ३० टन गेडा धनियाँमा अन्तर्राष्ट्रियस्तरमै प्रतिबन्धित क्वारेन्टाइन पेस्ट (किरा) भेटिएको हो। यो किराले अन्नबाली र भण्डारण गरिएका खाद्य सामग्रीलाई पूर्ण रूपमा ध्वस्त बनाउन सक्ने र एकपटक प्रवेश गरेमा निकै लामो समयसम्म (४–५ वर्षसम्म) सुषुप्त अवस्थामा बस्न सक्ने तथा अनुकूल समयमा पुनः सङ्क्रमण फैलाउन सक्ने भएकाले यसलाई नेपालभित्र छिर्न दिनु निकै जोखिमपूर्ण मानिएको छ। केन्द्रले चीनको आधिकारिक निकायलाई यस विषयमा सूचित गरिसकेको छ र स्पष्टीकरण नआएसम्म तथा भविष्यमा यस्ता किरा नभेटिने सुनिश्चितता नभएसम्म धनियाँको आयात प्रक्रिया रोक्का रहनेछ।

युगान्डाको एभोकाडोमा ‘फाइटोप्थोरा पाल्मिभोरा’ को जोखिम

नेपालमा युगान्डाबाट आयात हुने एभोकाडोमा हानिकारक रोग भेटिएपछि सरकारले यसको आयातमा तत्कालका लागि पूर्णरूपमा रोक लगाएको छ। युगान्डाको एभोकाडोमा नेपालको स्वदेशी खेतीलाई नै सखाप पार्न सक्ने रोगको जीवाणु ‘फाइटोप्थोरा पाल्मिभोरा’ भेटिएको हो। यो रोगले एभोकाडोको फल कुहाउने मात्र नभई बिरुवाको जरा र डाँठलाई समेत कुहाएर सिङ्गै बोटलाई सुकाएर मार्न सक्छ। पानी र माटोका माध्यमबाट द्रुत रूपमा फैलिने यो रोग नेपालका लागि अत्यन्तै खतरनाक मानिएको छ। बजारबाट किनेर ल्याइएको आयातित सङ्क्रमित एभोकाडो खाएर त्यसको बोक्रा वा दाना जथाभावी फालिए यसको जीवाणु सजिलै हाम्रो माटोमा मिसिन पुग्छ।

भारतीय आँपमा जैविक सुरक्षाको मापदण्ड

नेपालले भारतीय आँप आयातमा पनि जैविक सुरक्षा मापदण्ड लागू गरेको छ। यस अनुसार आँप पैठारी गर्दा ४८ डिग्री सेन्टिग्रेड तापक्रमको पानीमा १ घण्टा (६० मिनेट) सम्म ‘हट वाटर ट्रिटमेन्ट’ (तातोपानी उपचार) गरिएको हुनुपर्नेछ। यस्तै भारत सरकारको आधिकारिक बिरुवा संरक्षण संगठनबाट सो अनुसार उपचार गरिएको ‘बिरुवा स्वच्छता प्रमाण पत्र’ पेस भएमा मात्र नेपालमा पैठारीका लागि प्रवेश अनुमति पत्र (इम्पोर्ट पर्मिट) जारी गरिनेछ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाका अनुसार नेपालको जैविक सुरक्षा सुनिश्चित गर्न नियमित रूपमा ‘शत्रुजीव जोखिम विश्लेषण’ गरिँदै आएको छ। यो विशुद्ध रूपमा विज्ञान र अन्तर्राष्ट्रिय नियममा आधारित हुने र विश्व व्यापार सङ्गठनको स्यानिटरी एन्ड फाइटोस्यानेटरी सम्झौता र अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धिका नियमहरूका आधारमा मात्र यस्ता कदम चालिने उनले स्पष्ट पारे।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार