पिप्रहरको मुटुमा १५ घरबाट सुरु भएको सामुदायिक होमस्टे अहिले २२ घरमा फैलिएको छ। यसले स्थानीय थारू महिलाको जीवनशैली, आत्मविश्वास र आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याएको छ। केही वर्षअघिसम्म घरधन्दा र खेतीपातीमै सीमित महिला अहिले पाहुनाको स्वागत, व्यवस्थापन र सांस्कृतिक कार्यक्रम सञ्चालनमा अग्रसर छन्।
नयाँ मानिससँग बोल्न हिच्किचाउने महिलाहरू अहिले निर्धक्क भई आफ्नो गाउँ, संस्कृति र जीवनशैलीबारे जानकारी दिन सक्ने भएका छन्। पिप्रहर सामुदायिक होमस्टेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ। स्थानीय थारू संस्कृति, परम्परागत खानपान, प्राकृतिक वातावरण र ग्रामीण जीवनको अनुभव लिन पर्यटक यहाँ पुग्ने गरेका छन्।
होमस्टे सञ्चालनको मुख्य जिम्मेवारी महिलाकै काँधमा छ। पाहुनाको स्वागत, परिकार तयार गर्ने, सांस्कृतिक नृत्य प्रस्तुत गर्ने र सरसफाइ व्यवस्थापनजस्ता कार्य महिलाले नै सम्हालिरहेका छन्। यसमा पुरुषको सहयोग भए पनि नेतृत्व भने महिलाकै सक्रियतामा छ।
स्थानीय चन्द्रामाया महतो होमस्टे सुरु भएपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आएको बताउनुहुन्छ। “पहिले खेतीपातीको आम्दानीमै भर पर्नुपथ्र्यो, खर्च धान्न गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले होमस्टेमा पाहुना आउँछन्, सेवा गरेबापत आम्दानी हुन्छ। घरखर्च चलाउन सहज भएको छ।”
होमस्टेले महिलालाई आर्थिक रूपमा मात्र नभई सामाजिक रूपमा पनि सशक्त बनाएको स्थानीयको भनाइ छ। परिवार र समाजबाट प्रोत्साहन पाएपछि महिला नेतृत्व तहमा पुग्न सक्षम भएका छन्।
पिप्रहर आउने पर्यटकका लागि स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्य मुख्य आकर्षण हो। पिप्रहर सामुदायिक होमस्टेका अध्यक्ष सोमनाथ महतोका अनुसार यहाँ आउने पाहुनाले गाउँको मौलिक संस्कृति र घरमै बसेको जस्तो अनुभव पाउँछन्। नारायणी नदी आसपासको मध्यवर्ती क्षेत्रमा जिप सफारीमार्फत गैँडा, हरिण, मृग, बँदेल, गोही र विभिन्न चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ।
जङ्गली जनावरका कारण स्थानीयले भोग्ने समस्या पनि अहिले पर्यटकीय आकर्षणमा बदलिएको छ। गाउँबस्ती नजिक आउने वन्यजन्तु अवलोकन गर्न पर्यटक उत्साहित हुने गरेका छन्। देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले होमस्टेले महिलाको आत्मनिर्भरता र क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
“पहिले महिला बाहिर बोल्नै डराउनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले पाहुनासँग खुलेर संवाद गर्नुहुन्छ, कार्यक्रम सञ्चालन गर्नुहुन्छ। गाउँकै विकासमा महिलाको भूमिका बढेको छ।”
विसं २०७२ मा पाँच घरबाट सुरु गरिएको पिप्रहर सामुदायिक होमस्टे अहिले विस्तार भई २२ घरमा पुगेको छ। होमस्टेसँगै स्थानीय उत्पादन, थारू परिकार र सांस्कृतिक कार्यक्रमले बजार पाएको छ। ग्रामीण पर्यटनसँगै महिलाको नेतृत्व र आर्थिक सशक्तीकरणको उदाहरण बनेको पिप्रहर सामुदायिक होमस्टे अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहिचान बन्दै गएको छ।
