मधेस प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले विगत सात महिनादेखि पारिश्रमिक तथा अन्य सेवा–सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्। गत कात्तिक महिनादेखि तलब र चाडपर्व भत्ता नपाएको गुनासो गर्दै आएका कर्मचारीहरूले चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत म्याद थप तथा नवीकरण प्रक्रिया टुंगो नलागेपछि सडक संघर्षमा उत्रिन बाध्य भएका हुन्।
पीडित कर्मचारीहरूले आफ्नो माग सम्बोधनका लागि जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धर्ना तथा ¥यालीसहित प्रदर्शन गरेका हुन्। संयुक्त संघर्ष समितिका संयोजक साहिद राइनले आफ्ना समस्याबारे सम्बन्धित निकायहरूलाई पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे।
आन्दोलनरत कर्मचारीहरूले मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ध्यानाकर्षण गराउँदै तत्काल माग पूरा गर्न आग्रह गरेका छन्। उनीहरूले रोकिएको तलब भुक्तानी, सेवा सम्झौता नवीकरण, पोशाक भत्ता, जोखिम भत्ता तथा महँगी भत्ता उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
कर्मचारीहरूका अनुसार आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनादेखि हालसम्मको तलब र चाडपर्व भत्ता उपलब्ध गराइएको छैन। प्रयोगशालाकर्मी अनिल महतोले चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीहरूको म्याद थप तथा नवीकरण प्रक्रिया टुंगो नलागेपछि आफूहरू सडक संघर्षमा उत्रिनु परेको बताए।
आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए आन्दोलनलाई थप सशक्त र कडा बनाउने चेतावनी समेत प्रयोगशालाकर्मीहरूले दिएका छन्।
