ब्राजिलको लिमेरामा १३० फिट माथिबाट सुरक्षा डोरीबिना खसाल्दा २१ वर्षीया मारिया एडुआर्डा रोड्रिग्स डे फ्रेटासको मृत्यु भएको छ। यो घटना रोप जम्पिङका क्रममा भएको हो।
घटनामा संलग्न प्रशिक्षक लुइस फेलिप फेलिसियानो एगोरोफ, भिटोर डे फ्रेटास गोन्काल्भेस र माइकन फर्नान्डेस सिन्ट्रालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि ‘नियतवश हत्या’ को आरोप लगाइएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
प्रहरी अधिकारी एन्ड्रिया लेवीका अनुसार प्रशिक्षकहरूले युवतीलाई सुरक्षा डोरीमा नजोडिएको स्वीकार गरेका छन्। उपकरण जाँच गर्ने जिम्मेवारी कसको थियो भन्ने उनीहरूलाई याद छैन।
भाइरल भिडियोमा एडुआर्डालाई दुई जना पुरुषले पुलबाट तल फ्याँकेको देखिन्छ। उनले हेलमेट लगाए पनि शरीरमा सुरक्षा डोरी बाँधिएको छैन।
स्थानीय सञ्चारमाध्यमका अनुसार ‘स्केलेटन ब्रिज’ पुरानो रेलवे लाइनको हिस्सा थियो। एडुआर्डालाई यसअघि रोप जम्पिङको अनुभव थियो कि थिएन भन्ने स्पष्ट छैन।
मृतककी आमाले सामाजिक सञ्जालमा छोरीको वियोगमा परेको पीडा व्यक्त गरेकी छिन्। उनले २१ वर्षसम्म जीवनको हिस्सा बनेकोमा धन्यवाद दिएकी छिन्।
सहरका अधिकारीहरूले एडुआर्डाको मृत्युको विषयमा संघीय सरकारविरुद्ध मुद्दा हाल्ने योजना बनाएका छन्।
