उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार भाउ घटाउन कडा निर्देशन दिएकी छन्। सिंहदरबारस्थित मन्त्रालयमा आयोजित विशेष बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने स्पष्ट पारिन्।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसायी महासंघ र चामल, दाल, तेल व्यवसायी महासंघका अध्यक्ष एवम् प्रतिनिधिहरूको सहभागिता थियो। छलफलका क्रममा व्यवसायीहरूले आफ्ना व्यावसायिक समस्या र गुनासोहरू मन्त्री समक्ष राखेका थिए।
व्यवसायीका गुनासा सुनेपछि मन्त्री यादवले अनियन्त्रित बजार भाउका कारण सर्वसाधारण चरम मारमा परेको उल्लेख गरिन्। उनले कुनै पनि बहानामा ढिलाइ नगरी मूल्य घटाउन निर्देशन दिइन्। नुन, तेल, चामलदेखि हरियो तरकारीसम्मका अत्यावश्यक वस्तुहरूको बिक्री वितरण सहज बनाउँदै तत्काल बजारको वास्तविक अवस्था हेरेर भाउ घटाउन उनले आग्रह गरिन्।
सरकार र प्रधानमन्त्रीको समेत चासो रहेकाले बजारलाई यथाशक्य चाँडो उपभोक्ता मैत्री बनाउन मन्त्रालय लागिपर्ने मन्त्री यादवको भनाइ थियो। बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले पनि यस विषयमा सकारात्मक प्रतिक्रिया दिए। उनीहरूले आम उपभोक्तालाई राहत दिने गरी बजार मूल्य घटाउने कार्यमा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
उक्त बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवहरू तथा आपूर्ति व्यवस्थापन सम्बन्धी संस्थानका प्रमुखहरूको समेत उपस्थिति थियो। कार्यक्रमको प्रारम्भमा सहसचिव एवम् प्रवक्ता नेत्र सुवेदीले उपभोक्ता संरक्षण ऐनका प्रावधानबारे प्रस्तुति राखेका थिए।
