पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागले सात दिनभित्र उपस्थित हुन पुर्जी काटेको छ। विभागले मंगलबार सूचना जारी गर्दै जयवीरलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७१ बमोजिम पुल्चोकस्थित केन्द्रीय कार्यालयमा बोलाएको हो। अनुसन्धानका लागि बयान आवश्यक रहेको पुर्जीमा उल्लेख छ।
विभागले यसअघि जयवीरका बुबा शेरबहादुर देउवा र आमा आरजु राणा देउवालाई पनि बोलाएको थियो। देउवा दम्पतीले साउन मसान्तसम्म उपस्थित हुने जानकारी विभागलाई गराएका छन्। जयवीरको बुढानीलकण्ठस्थित घरमा पुर्जी टाँस गरिएको छ।
