झापाको काँकडभिट्टामा सार्वजनिक रूपमै तस्करीको आरोप लागेपछि गृहमन्त्री सुधन गुरुङले दुई डीएसपीसहित चार सुरक्षा अधिकारीका मोबाइल फोन फरेन्सिक जाँचका लागि जफत गर्न आदेश दिएका छन्। काँकडभिट्टाकी बन्दना मेचेले सार्वजनिक स्थलमै मासिक रकम असुली र ठूला तस्करलाई सहयोग गर्ने गरेको गुनासो गरेपछि गृहमन्त्रीले तत्काल कदम चालेका हुन्।
मेचेले गृहमन्त्री गुरुङसमक्ष सुरक्षाकर्मीका ‘घुमुवा’ हरूले कसरी रकम असुल्छन् र पैसा नदिने साना व्यापारीलाई दुःख दिएर ठुला तस्करलाई स्कर्टिङ गरेर सामान भित्र्याउँछन् भन्ने कुराको पर्दाफास गरेकी थिइन्। उनले तस्करीमा संलग्न केही प्रहरी कर्मचारीहरूको नामसमेत किटेरै मन्त्रीलाई जानकारी गराउँदै प्रशासनको भूमिकामाथि प्रश्न उठाएकी थिइन्।
महिलाको गुनासोपछि गृहमन्त्री गुरुङले मेची भन्सार कार्यालयको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र भन्सार प्रमुख शिवलाल न्यौपाने लगायतका अन्य प्रशासनिक अधिकारीहरूलाई बाहिर राखेर सुरक्षा निकायका अधिकारीहरूलाई मात्रै बन्द कोठाभित्र राखेर केरकार गरेका थिए।
छलफलका क्रममा गृहमन्त्रीले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र सशस्त्र प्रहरीका डीएसपी विकास थापालाई आफ्ना मोबाइल फोनहरू टेबुलमा राख्न निर्देशन दिएका थिए। स्रोतका अनुसार ती दुवै डीएसपीका मोबाइल फोनहरू अनुसन्धानका लागि तत्काल नियन्त्रणमा लिएर ‘फरेन्सिक ल्याब’ (विधि विज्ञान प्रयोगशाला) पठाउन गृहमन्त्रीले निर्देशन दिएका थिए। ती मोबाइलमा भएका कल डिटेल, ह्वाट्सएप च्याट र तस्करहरूसँगको संवाद हेरिने सुरक्षा स्रोतले जानकारी दिएको छ।
मेची नगरपालिकाको सीमा क्षेत्र जोरसिमल चेकपोष्टमा खटिएका वरिष्ठ हवल्दार श्याम चौधरी र सहायक हवल्दार नारायण खनालको मोबाइल पनि जफत गरिएको स्रोतको दाबी छ। उनीहरूले तस्करहरूसँग सिधै सम्पर्क राख्ने र सीमामा कुन बेला कुन गाडी छिराउने भन्ने निर्णय गर्ने गरेको दाबी गरिएको छ।
गृहमन्त्री गुरुङले भन्सार कार्यालयभित्रै भएको केरकारका क्रममा अधिकारीहरुको बैंक एकाउन्ट र मोबाइलका सन्देशहरूले सबै कुरा बोल्ने बताएका थिए। ‘जनताले सास्ती पाउने र केही सीमित व्यक्तिले तस्करीबाट अकुत सम्पत्ति कमाउने दिन अब सकिए,’ उनले भनेका थिए। भन्सारका एक अधिकृतका अनुसार मन्त्रीको यो सक्रियताले पहिलो पटक तस्करीको लाइन अवरुद्ध भएको छ।
सुरक्षा स्रोतका अनुसार झापाको भद्रपुर नगरपालिकाको पूर्वतर्फ नेपाल बैंक नजिकैको क्षेत्रबाट मनोज र सुबोध नाम गरेका व्यक्तिहरूको समूहले गुट्खा बनाउने कच्चा पदार्थ, लत्ताकपडा र सीटीसी चियामा प्रयोग गरिने प्रतिबन्धित रङको अवैध कारोबार गर्ने गर्दछन्। सशस्त्र प्रहरी बल (एपिएफ) को क्याम्पभन्दा केही दक्षिणतर्फबाटै ठुलो मात्रामा तस्करी हुने गरेको छ। यहाँ तुला, दीपक, भिमा, गणेश, मेघु, अजय र राजन ढुसी भनिने व्यक्तिहरू सक्रिय छन्। यो समूहले मुख्यगरी कपडा, सवारी साधनका पार्टपूर्जा र माछाको अवैध पैठारी गर्ने गरेको स्रोतको दाबी छ।
तस्करीको जालोमा महिलाहरूको संलग्नता पनि उत्तिकै देखिएको छ। सतिघट्टा नाकाबाट कला नामकी महिलाले कपडाको तस्करी गरिरहेकी छिन् भने राइसिङ पुल र मिलन चोक (बाहुनडाँगी क्षेत्र) मा सीताको समूहले कपडाको अवैध कारोबार सम्हालिरहेको छ। यस्तै, फोहोरमैला व्यवस्थापन क्षेत्र र मेची डाँडाबाट उषा नामकी महिलाले कपडा तस्करीको नेतृत्व गरिरहेको स्रोत दाबी गर्छ।
बाहुनडाँगीको साधुगौडा र तिरिङ क्षेत्रमा हात्ती धपाउन बनाइएका टुङ (मचान) छेउका लुकिछिपी बाटोहरू प्रयोग गरी श्याम लामा र नेत्र सुब्बाले सीताका सामानहरू सीमा पार गराउने जिम्मा लिएका छन्। नेपालमा मलको हाहाकार भइरहँदा बाहुनडाँगी प्रहरी चौकीकै नजिकबाट दैनिक २५० देखि ३०० बोरा युरिया मल साइकलमा राखेर मेहताको घर आसपासबाट ओसारपसार हुने गरेको स्रोतको भनाइ छ।
तस्करहरूले साना सवारी, साइकल र भरियाको प्रयोग गरी सामान ओसार्ने गरेका छन्। इलामको पशुपतिनगर, मानेभन्ज्याङ र जौबारीदेखि झापाका दर्जनौँ नाकाहरूमा तस्करीको लाइन खुला रहनुमा सशस्त्र र जनपद प्रहरीका अधिकारीहरूकै मौन समर्थन रहेको आरोप लागेको छ।
