मधेश प्रदेशमा बर्डफ्लु नियन्त्रणमा आएको सरकारी दाबीबीच महोत्तरी र बाराका पोल्ट्री व्यवसायी त्रसित छन्। काभ्रेमा करोडौंको क्षतिले बजारमा त्रास फैलिएपछि कुखुराजन्य वस्तुको बिक्री घटेको किसानको गुनासो छ।
पशु सेवा विभागका अनुसार पछिल्लो चरणमा ११ जिल्लामा बर्डफ्लु फैलिएको थियो। मधेश प्रदेशका महोत्तरी र बारामा संक्रमण नियन्त्रणमा आएको छ। तर, काठमाण्डु, ललितपुर, भक्तपुर र काभ्रेमा अझै संक्रमण कायमै छ। मधेश र काठमाण्डु जोड्ने मुख्य ढुवानी मार्ग भएकाले जोखिम पूर्ण रूपमा हटेको छैन।
काभ्रेको पनौती नगरपालिका–६ का प्रदीप कार्कीले बर्डफ्लुका कारण ठूलो आर्थिक क्षति व्यहोरेका छन्। उनको फार्ममा पाँच हजार लेयर्स कुखुरा, अण्डा र दाना नष्ट गरिएको छ। मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्दै आएका कार्कीको व्यवसाय विस्तार योजना रोकिएको छ। बैंकको ऋण र दैनिक खर्च चलाउन उनलाई समस्या भएको छ। प्रभावित फार्ममा तीन महिनासम्म पुनः कुखुरा पाल्न नपाइने भएकाले आम्दानीको स्रोतसमेत बन्द भएको छ।
संक्रमण लेयर्स कुखुरामा देखिए पनि बजारमा फैलिएको त्रासले ब्रोइलर कुखुराको मासु र अण्डाको बिक्रीसमेत घटेको छ। कार्कीले सरकारले संक्रमण नियन्त्रणसँगै उपभोक्तामा सही सूचना प्रवाह गरेर डर हटाउनुपर्ने बताए।
जिल्ला पशु सेवा कार्यालय काभ्रेका अनुसार कमजोर क्वारेन्टाइन, बायोसिक्युरिटीको पालना नहुनु र मृत कुखुराको अव्यवस्थित व्यवस्थापनले संक्रमण तीव्र रूपमा फैलिएको हो। काभ्रेका १७ स्थानमा संक्रमण पुष्टि भएको छ। यस क्रममा ६२ हजार ५१९ वटा कुखुरा तथा हाँस, ३६ हजार १ केजी दाना र ९ हजार ८ सय अण्डा नष्ट गरियो। यसबाट करोडौं रुपैयाँको क्षति भएको अनुमान छ।
सरकारले नष्ट गरिएका कुखुराको मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने व्यवस्था छ। काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार क्षतिपूर्तिका लागि सिफारिस केन्द्रमा पठाइएको छ र बजेट निकासा भएपछि राहत वितरण गरिनेछ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले पनि प्रभावित किसानको खातामा राहत रकम पठाउने प्रक्रिया सुरु भइसकेको बताए।
मधेश प्रदेशका पशु स्वास्थ्य कार्यालयहरूले निगरानी, जैविक सुरक्षा र ढुवानी व्यवस्थापनमा सतर्कता अपनाइरहेका छन्। पशुसेवा कार्यालयले मधेश प्रदेशमा बर्डफ्लु संक्रमण फैलिए पनि नियन्त्रणमा रहेको दाबी गरेको छ।
