प्रधानमन्त्री बालेन शाहले न्यायका लागि काठमाडौं आउनु नपर्ने उद्घोष गरेको जनकपुरधामको तिरहुतियागाछीबाटै मिटरब्याज पीडितहरूले पैदल मार्च थालेका छन्।
गत माघ ४ गते बालेनले यही स्थानमा आयोजित रास्वपाको सभाबाट मिटरब्याज पीडितलाई काठमाडौं आउनु नपर्ने उद्घोष गरेका थिए।
तर, बालेनको उद्घोषपछि पनि मिटरब्याज पीडितको न्यायका लागि ठोस कदम चालिएन। त्यसैले, उनीहरू ६ सूत्रीय मागसहित पैदल मार्च गर्दै काठमाडौं लागेका छन्।
सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गराउन ‘मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल’ को ब्यानरमा पीडितहरू काठमाडौंमा प्रदर्शन गर्दैछन्।
उनीहरूको मुख्य माग छ: मिटरब्याजसँग सम्बन्धित तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन, चेकलगायत सबै फर्जी लिखत मन्त्रिपरिषद् निर्णयबाट अवैध घोषणा गरी खारेज गरियोस्।
मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी विशेष ऐन निर्माण गरी कार्यान्वयन गरिनुपर्छ। मिटरब्याजसम्बन्धी मुद्दा छिटो टुंग्याउन विशेष न्यायाधिकरण गठन, फर्जी मुद्दाको पुनरावलोकन तथा पीडितमैत्री न्यायिक संयन्त्र स्थापना गरिनुपर्ने माग छ।
साहु–महाजनले अवैध रूपमा आर्जन गरेका सम्पत्ति छानबिन गरी गैरकानुनी सम्पत्ति जफत गरियोस्। बैंक कारोबारको आधारमा अनुसन्धान हुनुपर्छ। पीडितको चल–अचल सम्पत्ति फिर्ता गराई दोषीलाई कानुनी कारबाही, क्षतिपूर्ति तथा सम्पत्ति फिर्ता प्रक्रियामा सहुलियत दिइनुपर्छ।
शोषित, उत्पीडित तथा साना व्यवसायीलाई सहज ऋण, वित्तीय पहुँच र न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्ने विशेष कार्यक्रम सञ्चालन गरिनुपर्ने पीडितको माग छ।
‘मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल’ का अध्यक्ष कुशवाहाले काठमाडौंसम्म पुगेर सशक्त आन्दोलन गर्ने बताए। उनले भने, “विगतमा सरकारले पटक पटक सहमति गर्यो। तर, उजुरी दिएका पीडितहरूले न्याय पाएनन्। त्यसकारण सशक्त आन्दोलनको विकल्प छैन।”
पीडित नेता मनोज पासवानका अनुसार, मिटरब्याज पीडितहरू दिनहुँ २० देखि २५ किलोमिटर हिँड्नेछन्। मार्च अघि बढ्दै जाँदा अन्य ठाउँका पीडितहरू पनि जोडिँदै जानेछन्।
