गृह मन्त्रालयले विपद् व्यवस्थापन र उद्धार कार्यलाई प्रभावकारी बनाउन टोल फ्री नम्बर परिवर्तन गरेको छ। यसअघि सञ्चालनमा रहेको ११४९ नम्बरलाई प्रतिस्थापन गरी अब १२३४ नम्बरबाट विपद् सम्बन्धी जानकारी र उद्धारका लागि सम्पर्क गर्न सकिनेछ।
मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले रातोपाटीलाई दिएको जानकारी अनुसार, यो नयाँ नम्बर असार २६ गतेदेखि देशभर सञ्चालनमा आउनेछ। आपत्कालीन अवस्थामा सम्झन सजिलो होस् भन्ने उद्देश्यले १२३४ नम्बर छनोट गरिएको हो।
नयाँ प्राविधिक व्यवस्थाअनुसार, १२३४ मा फोन गर्दा कल गर्ने व्यक्तिको सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सिधै कल जानेछ। यसलाई ‘कल राउटिङ’ भनिन्छ। यसअघिको नम्बर ११४९ मा फोन गर्दा केन्द्रीय स्तरबाट मात्र सम्बोधन हुने गरेको थियो।
विपद्जस्तो संवेदनशील अवस्थामा नागरिकको गुनासो वा समस्याको सम्बोधन तत्काल स्थानीय स्तरबाटै हुनुपर्ने आवश्यकता महसुस गरेर यो नयाँ व्यवस्था लागू गरिएको सहसचिव काफ्लेले स्पष्ट पारे।
उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरबाट १२३४ मा फोन गर्दा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा कल जोडिनेछ। बाँकी ७४ जिल्लाका लागि भने सम्बन्धित जिल्लाकै आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट प्रत्यक्ष रूपमा समस्याको सम्बोधन गरिनेछ।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीअन्तर्गत ‘नतिजामा आधारित शासकीय प्रबन्ध’ लागू गर्ने निर्णयबमोजिम सबै जिल्लामा २४ घण्टा सञ्चालन हुने गरी विपद् कल सेन्टर स्थापना गरिएको मन्त्रालयले जनाएको छ।
