काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे भएर बग्ने नदी तथा खोलामा आज बाढीको उच्च जोखिम छ। जल तथा मौसम विज्ञान विभागले देशका ३३ जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार नुवाकोट, ताप्लेजुंग, संखुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, कास्की, रसुवा र धादिङमा बाढीको मध्यम जोखिम छ।
यस्तै, बारा, पर्सा, रौतहट, कपिलबस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाजरकोट, जुम्ला, दार्चुला र आसपासका जिल्लाका स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम छ।
आज दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा भारी वर्षाको पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
राति गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कोसी प्रदेशको पहाडी तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागमा पनि एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
