स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्य सेवा, उपचार र जनचेतना देशव्यापी विस्तार गर्न मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ। यसका लागि मन्त्रालयले देशव्यापी अभियान चलाउनेछ।
सचिव विकास देवकोटाको अध्यक्षतामा सम्पन्न अनलाइन बैठकले विद्यमान स्वास्थ्य संरचनामार्फत मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम समुदाय तहसम्म पुर्याउने निर्णय गर्यो। बैठकमा मन्त्रालयका महाशाखा प्रमुख, सातै प्रदेशका स्वास्थ्य सचिव, स्वास्थ्य निर्देशनालयका निर्देशक र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधि सहभागी थिए।
अभियानले विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदाय परिचालन, उपचाररत बिरामीलाई सहजीकरण, वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई परामर्श र निगरानीमा जोड दिनेछ।
मानसिक स्वास्थ्य सेवा र जानकारी सर्वसुलभ बनाउन हटलाइन ११६६ र हेलो स्वास्थ्य १११५ सहित स्वास्थ्य संस्थाका सम्पर्क नम्बरको प्रचार गरिनेछ। मोबाइल रिङ ब्याकटोन, सामाजिक सञ्जाल, पोस्टर, भिडियो सन्देश, टिकटक रिल र अनलाइन काउन्सेलिङमार्फत जनचेतना अभियान सञ्चालन गरिनेछ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा क्लब, सामी परियोजना र गैरसरकारी संस्थाका जनशक्तिलाई एकीकृत रूपमा परिचालन गरिनेछ। आयुर्वेद अन्तर्गत योग, ध्यान र मनोसामाजिक सेवासमेत अभियानमा जोडिनेछ।
मन्त्रालयले अस्पतालमा उपलब्ध मानसिक स्वास्थ्य सेवाको प्रचार, निःशुल्क औषधिको मौज्दात सुनिश्चित गर्ने, नियमित स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य सेवा एकीकृत गर्ने र आवश्यकतानुसार साइकोसोसियल हेल्थ डेस्क स्थापना गर्ने तयारी अघि बढाउनेछ।
उपचारबाट बाहिरिएका (डिफल्टर) बिरामीको खोजी र पुनःउपचारमा ल्याइनेछ। लुकेर बसेका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई पहिचान गरी उपचारको दायरामा ल्याइनेछ। छात्रवृत्ति चिकित्सक परिचालनका लागि मापदण्ड तयार गरिनेछ।
चालु आर्थिक वर्षको बाँकी अवधिमा प्रारम्भिक कार्यक्रम सुरु गरी आगामी आर्थिक वर्षको साउनदेखि देशव्यापी अभियान थप प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। मानसिक स्वास्थ्यलाई संस्थागत सेवाभन्दा समुदायमा आधारित परामर्श र सेवासँग जोडेर अघि बढाइने निष्कर्ष निकालिएको छ।
