कोशी प्रदेशमा विगत चार वर्षमा राजनीतिक अस्थिरता, सत्ताको लुछाचुँडी र मन्त्री पदको दुरुपयोगको नमुना प्रस्तुत भएको छ। २०७९ पुस २५ गतेदेखि सुरु भएको दोस्रो प्रदेश सभाको कार्यकाल सत्ता जोगाउने र ढाल्ने खेलमै रुमलिएको छ। यस अवधिमा प्रदेशमा ६ पटक सरकार गठन र विघटन भएको छ भने मुख्यमन्त्रीहरूले सत्ता टिकाउन १८ पटक मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गरेका छन्। अब सातौं पटकको सरकार गठनको तयारीमा तीन दल लागेका छन्, जसले १९ औं पटक मन्त्रीमण्डल गठन हुनेछ।
प्रदेशसभाको दोस्रो कार्यकालमा नेकपा एमालेका हिक्मतकुमार कार्की सर्वाधिक ३ पटक मुख्यमन्त्री नियुक्त भएका छन्। नेपाली कांग्रेसका उद्धव थापा २ पटक मुख्यमन्त्री बने भने कांग्रेसकै विद्रोही नेता केदार कार्की १ पटक मुख्यमन्त्री बन्न सफल भए। अदालतको आदेश, संविधानका विभिन्न धाराको प्रयोग र गठबन्धन फेरबदलका कारण कुनै पनि सरकारले स्थायित्व पाउन सकेनन्।
सरकार ढल्ने डरले मुख्यमन्त्रीहरूले मन्त्री पदलाई ललिपपजस्तै बाँडेको तथ्याङ्कले देखाउँछ। ६ वटा सरकारको पालामा जम्मा १८ पटक मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गरिएको छ। यस अवधिमा मन्त्री र राज्यमन्त्री गरी चार दर्जनबढीले फुली लगाइसकेका छन्। नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार सबैभन्दा धेरै ४ पटक मन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा खारेज गर्नुपर्ने प्रस्ताव पारित गरे पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले यसको आलोचना गरिरहेका छन्। उनीहरूको तर्क प्रदेशसभा खारेज गर्नु संघीयता नरहनु हो। तर, यी दलहरूले प्रदेश संरचनाको हुर्मत लिने काम गरिरहेका छन्। कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले पटक पटक सरकार परिवर्तन हुँदा संघीयतामा प्रश्न उठाउनेलाई बल मिलेको स्वीकार गरेका छन्। एमालेबाट कोशी प्रदेश सरकारका मन्त्री विदुरकुमार लिङ्थेपले पनि अहिलेको परिस्थितिमा सरकार फेरबदलमा लाग्नु राम्रो नभएको बताएका छन्।
यसैबीच, कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता साझेदारी टुट्ने अवस्थामा पुगेको छ। २०८१ साल असारमा भएको आलोपालो गर्ने सहमति अनुसार असार मसान्त भित्रै नेतृत्व परिवर्तनको तयारी भइरहेको बेला केन्द्र र अन्य प्रदेशको विवादका कारण गठबन्धन टुट्न लागेको हो। नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय संयन्त्रले केन्द्रको निर्णय पर्खने निर्णय गरेकाले तत्कालै मन्त्रीहरूले राजीनामा नदिने भएका छन्। कांग्रेस कोशी प्रदेशका सभापति एवम् संसदीय दलका नेता उद्धव थापाले एमालेसँगको गठबन्धन अन्त्य भईसकेको भए पनि नयाँ सरकार गठनका लागि एमाले, नेकपा र अन्य दलसँग विकल्पबारे छलफल गरिने बताएका छन्।
