सांसदका स्वकीय सचिवको तलब र भत्ता बढ्ने, अर्थमन्त्री सकारात्मक
सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक र फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा मन्त्री वाग्लेले स्वकीय सचिवको पारिश्रमिक तथा सुविधाका विषयमा सरकार उदार रहेको बताए।
फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्तालगायत सुविधाहरूलाई आवश्यक विधि र प्रक्रिया पुर्याएर समयानुकूल बनाउन सरकार नकारात्मक नरहेको उनको भनाइ छ। “अब यो हामी तलब वृद्धिको कुरा छ, हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदार नै बनिरहेका छौँ,” उनले भने, “त्यस मानेमा यो जुन फिल्ड भिजिटहरूको हुँदाखेरिको भत्ताजस्ता कुराहरू छन् त्यसलाई विधि पुर्याएर समयानुकुल बनाउनमा हामी नकारात्मक छैनौँ ।”
यसैगरी, अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक ऐनमा प्रस्तावित संशोधनका विषयहरूलाई स्वस्थ र विधिसम्मत छलफलमार्फत टुंग्याउन सरकार तयार रहेको बताए। उनले राष्ट्र बैंकको संरचना र पदाधिकारी नियुक्तिजस्ता विषयमा सरकार ‘रिजिड’ (कठोर) नहुने उल्लेख गरे।
राष्ट्र बैंकको सञ्चालक समितिमा सदस्य संख्या राख्ने विषयमा खुला छलफल गर्न सकिने उनको भनाइ थियो। डेपुटी गभर्नरको नियुक्ति र संख्याका सम्बन्धमा परेका संशोधन प्रस्तावहरूबारे मन्त्री वाग्लेले डेपुटी गभर्नर बाहिरबाट पनि ल्याउन सकिने वा आन्तरिक नै रहने भन्ने विषयमा विधिसम्मत छलफल गरी निष्कर्षमा पुग्न सकिने बताए।
