मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रौतहटमा एक वर्षमा ५ करोडबढीका तस्करीका सामान बरामद

रौतहट प्रहरीले गत आर्थिक वर्षमा ५ करोड ९२ लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ। यस अवधिमा विभिन्न मुद्दामा ६९४ जना पक्राउ र ४४८ फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याइएको छ। लागुऔषध, अवैध हतियार, नक्कली मुद्रा र वन तथा नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणमा पनि प्रहरी सक्रिय देखिएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
तस्करीका सामान बरामद
Share:
२०२

रौतहट प्रहरीले गत आर्थिक वर्षमा ५ करोड ९२ लाख ५५ हजार ७२१ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ५.२४ प्रतिशतले बढी हो। प्रहरीले यस अवधिमा ६९४ जनालाई विभिन्न मुद्दामा पक्राउ गरेको छ। ४४८ फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याई ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन गराएको छ। उनीहरूबाट ६९ लाख ७१ हजार ८७४ रुपैयाँ जरिवाना समेत असुल भएको छ।

जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले गत वर्ष १ हजार १५२ वटा मुद्दा दर्ता भएको जानकारी दिए। तीमध्ये ६८० मुद्दा फछ्र्योट भएका छन् भने ४७२ मुद्दा अनुसन्धानकै क्रममा छन्। ४ हजार ८५० ठाडा उजुरीमध्ये ४ हजार ३८० फछ्र्योट भएका छन् भने ४७० प्रक्रियामा छन्।

लागुऔषध नियन्त्रण अभियानमा प्रहरीले ३९ वटा मुद्दामा ५१ जनालाई पक्राउ गरेको छ। प्रहरीले ८४७ किलो ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर, ४ हजार २६५ नशालु एम्पुल र १३ हजार ९१६ वटा लागुऔषधजन्य ट्याब्लेट बरामद गरेको छ।

अवैध हातहतियार नियन्त्रण अभियानमा ६ थान हतियार र १९ राउण्ड गोली बरामद गरी ३ जना पक्राउ परेका छन्। नक्कली मुद्रासम्बन्धी ३ वटा मुद्दामा ७ जना विरुद्ध कारबाही अघि बढाइएको छ। प्रहरीले १ लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरेको छ।

ट्राफिक व्यवस्थापनतर्फ १ हजार ८८ सवारी दुर्घटनामा ५३ जनाको मृत्यु भएको छ भने १ हजार ६९६ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २५५ सवारी साधनलाई कारबाही गरी १ करोड १ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

भन्सार छली नियन्त्रण अभियानमा १८ जना पक्राउ परेका छन् र १५५ सवारी साधन नियन्त्रणमा लिइएको छ। स्रोत नखुलेको १३ लाख ६२ हजार २०० रुपैयाँसहित ४ जना पक्राउ परेका छन्।

वन संरक्षण अभियान अन्तर्गत २२२ क्युबिक फिट सालको काठ बरामद गरी ५ लाख ९५ हजार २२५ रुपैयाँ राजस्व संकलन गरिएको छ भने २ जना पक्राउ परेका छन्। नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणमा ३० सवारी साधन र ३ जनालाई नियन्त्रणमा लिई २ लाख ५७ हजार ३०० रुपैयाँ राजस्व संकलन गरिएको छ। घरेलु मदिरा उत्पादनविरुद्धको अभियानमा ५ वटा अवैध मदिरा भट्टी नष्ट गरिएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वर्षभरि १५४ कार्यक्रम सञ्चालन भएका थिए। यस अवधिमा १ लाख ३३ हजार ७६४ सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय रौतहटबाट विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन्।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार