सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भनी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई प्रश्न गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले यस घटनामा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे। घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
थापाले सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार हुनुपर्ने बताए। नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद रहेको उनको भनाइ छ। उनले परिस्थितिलाई समयमै आँकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा जोड दिए।
उनले घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरे। घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन कुनै ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराए।
अवस्था थप जटिल बन्न नदिन प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिलाई अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले व्यवस्थापन गर्नुपर्ने उनको आग्रह छ। कठिन घडीमा संयमता र सदभाव महत्वपूर्ण रहने भन्दै उनले कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न आग्रह गरे। परिस्थितिलाई थप प्रतिकुल हुन नदिन तथा सामाजिक सदभाव कायम राख्न सम्पूर्ण स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज, राजनीतिक दललगायत सबैमा हार्दिक अपिल गरे।
