एनसेलले स्वीकार्यो: डेटा प्रयोग नगर्दा पनि ब्यालेन्स काटियो
एनसेलले मोबाइल डेटा प्रयोग नगरेको वा वाइफाइमा जोडिएको अवस्थामा पनि ग्राहकको ब्यालेन्स काटेको स्वीकार गरेको छ। टेकपानाले लामो अनुसन्धान र प्रमाणसहित प्रश्न गरेपछि कम्पनीले बिलिङ प्रणालीमा ‘प्राविधिक त्रुटि’ भएको स्वीकार्यो।
कम्पनीले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै घटनालाई सामान्यीकरण गर्ने प्रयास गर्यो। यसबाट ग्राहकको गुनासो सम्बोधनभन्दा छविको चिन्ता देखियो।
एनसेलले विज्ञप्ति जारी गर्दै भन्यो, ‘हामी हाम्रा ग्राहकहरूसँगको प्रतिबद्धतालाई गम्भीरतापूर्वक लिन्छौं। केही ग्राहकले डेटा प्रयोग नगर्दा पनि ब्यालेन्स काटिएको गुनासो गरेका थिए। आन्तरिक अनुसन्धानमा बिलिङ प्रणालीमा प्राविधिक त्रुटि फेला परेको छ।’
कम्पनीले त्रुटिले प्रभावित ग्राहकको ब्यालेन्स फिर्ता गरिसकेको दाबी गरेको छ। तर, धेरै ग्राहकले ब्यालेन्स फिर्ता नपाएको गुनासो गरिरहेका छन्।
यस प्रकरणले दूरसञ्चार सेवा प्रदायकहरूको सेवा गुणस्तर र ग्राहकप्रतिको उत्तरदायित्वमाथि प्रश्न खडा गरेको छ। यस्ता प्राविधिक त्रुटि सामान्य भए पनि ग्राहक हितलाई प्राथमिकतामा राखेर तत्काल समाधान गर्नु कम्पनीको दायित्व हो।
