झापाका प्रशासनिक निकायहरूबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ हजार आठ सय ५१ जनाले नागरिकता र २४ हजार चार सय ६६ जनाले राहदानी प्राप्त गरेका छन्। यो तथ्याङ्कले युवा वर्गमा विदेशिने आकर्षण कायमै रहेको देखाउँछ।
जिल्ला प्रशासन कार्यालयबाट मात्रै ३७८ जनाले आमाको नामबाट वंशजको नागरिकता प्राप्त गरेका हुन्। बाबुको पहिचान नभएका उनीहरूलाई कानुनी प्रावधानअनुसार यो सुविधा दिइएको हो।
यसैगरी, राष्ट्रिय परिचयपत्र सङ्कलन तथा वितरण अभियान अन्तर्गत एक वर्षको अवधिमा ९७ हजार चार सय ७७ जनाको विवरण सङ्कलन गरी ९८ हजार छ सय ८९ थान परिचयपत्र वितरण गरिएको छ।
सेवा प्रवाहका साथै राजस्व सङ्कलनमा पनि प्रशासनले उल्लेख्य योगदान पुर्याएको छ। राहदानी शुल्कबाट रु १४ करोड ७० लाख ७९ हजार चार सय ५१ र अन्य प्रशासनिक शुल्कबाट रु ६० लाख ४४ हजार ६० गरी कूल रु १५ करोड ३१ लाख २३ हजार पाँच सय ११ राजस्व सङ्कलन भएको छ।
सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउँदै लगिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। मिटरब्याज, नियामक निकाय र ठाडो उजुरी सम्बन्धी चार सय ७९ वटा निवेदन फर्छ्याैट गरिएका छन् भने नौ सय २९ जनालाई नाबालक परिचयपत्र उपलब्ध गराइएको छ।
