नेपालमा नसर्ने रोग (Non-Communicable Diseases – NCDs) बाट हुने मृत्युदर चिन्ताजनक रूपमा बढेको छ। हाल देशमा हुने कुल मृत्युमध्ये झन्डै ७१ प्रतिशत नसर्ने रोगका कारणले भएको तथ्यांकले देखाएको छ।
मुटुरोग, क्यान्सर, मधुमेह र दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगहरू नसर्ने रोगका प्रमुख कारक हुन्। सन् १९९० मा ३० प्रतिशत रहेको यो मृत्युदर सन् २०१० सम्म ५१ प्रतिशत र सन् २०२० सम्म आइपुग्दा ७१ प्रतिशत पुगेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०३० सम्ममा नसर्ने रोग नेपालमा मृत्युको प्रमुख कारण बन्ने प्रक्षेपण गरेको छ।
भक्तपुरमा नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखाको ४७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा चिकित्सक तथा अभियन्ताहरूले नसर्ने रोगको बढ्दो जोखिमबारे चिन्ता व्यक्त गरे। उनीहरूले समयमै जीवनशैलीमा सुधार नगरे सन् २०४० सम्ममा मृत्युदर ७९ प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिए।
कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णबहादुर कर्माचार्यले खानपानमा गडबडी, बढी नुन, चिनीको प्रयोग, अस्वस्थकर प्याकेट खाना, शारीरिक निष्क्रियता, सहरीकरण र प्रविधिको बढ्दो प्रयोगले व्यायाम कम हुनुलाई नसर्ने रोग बढ्नुको मुख्य कारण बताए।
उनले थपे, “चुरोट तथा मद्यपानको सेवन, तनावपूर्ण जीवनशैली, मानसिक तनाव र निद्राको कमी पनि यसका प्रमुख कारक हुन्।”
नियमित स्वास्थ्य परीक्षण, रक्तचाप, सुगर र कोलेस्ट्रोलको जाँच, स्वस्थ जीवनशैली, दैनिक ३० मिनेट व्यायाम र सन्तुलित आहार नसर्ने रोगबाट बच्ने उपाय हुन्। यसका साथै सूर्ती र मदिराजन्य पदार्थको पूर्ण रूपमा सेवन बन्द गर्नुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा धनमान श्रेष्ठ र बालमुकुन्द बासुकलाजस्ता व्यक्तिहरूले विगतमा क्षयरोगले निम्त्याएको भयावह अवस्था र त्यसलाई न्यूनीकरण गर्न आफूहरूले गरेको संघर्ष स्मरण गरेका थिए। नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखा २०३६ साल साउन १५ गते स्थापना भएको थियो र ४७ वर्षदेखि क्षयरोग न्यूनीकरणमा कार्यरत छ।
