मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रतिनिधिसभामा ४ विधेयक प्रस्तुत, ३ संसदीय समितिको बैठक बस्दै

सिंहदरबारमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा चारवटा विधेयक प्रस्तुत हुनेछन्। आजै तीन संसदीय समितिका बैठक पनि बस्दैछन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
प्रतिनिधिसभा बैठक विधेयक
Share:
१५३

सिंहदरबारमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सङ्घीय संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन्।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्रीको तर्फबाट ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा पेस गर्नेछिन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नेछिन्। परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

तीन संसदीय समितिको बैठक आजै

आज तीन संसदीय समितिको बैठक पनि बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक आजै बस्नेछ।

बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल गर्ने कार्यक्रम छ। कानुन, न्याय तथा मानवअधिकार समितिले बिहान १० बजे ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्नेछ। पूर्वाधार विकास समितिले विद्युतको वितरण लाइन र पोल व्यवस्थापन नहुँदा सडक निर्माणमा भएको ढिलाइबारे बिहान १० बजे छलफल गर्नेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार