NM Khabar 11 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रतिनिधिसभा र कांग्रेस बैठक आज बस्दै: खानी विधेयक र मलको माग मुख्य एजेन्डा

सिंहदरबारमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि छलफल हुनेछ। यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पनि पार्टी कार्यालयमा बिहान ११:३० बजे बस्नेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
11 August 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
प्रतिनिधिसभा बैठक
Share:

सिंहदरबारमा प्रतिनिधिसभाको बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ। बैठकको कार्यसूचीमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने रहेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यसबाहेक, आज दुई वटा संसदीय समितिको बैठक पनि बस्नेछ। संघीय संसद् सचिवालयका अनुसार, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिले बिहान ११ बजे बैठक गर्नेछन्। सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जलेका स्रेस्ता सम्बन्धमा छलफल हुनेछ। विकास आर्थिक मामिला तथा सुशासन समितिले ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्नेछ।

यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठक बिहान ११:३० बजे सुरु हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

सोमबार बसेको कांग्रेस बैठकले किसानलाई सहज रूपमा अनुदानको रासायनिक मल उपलब्ध गराउन, कालोबजारी र बिचौलियाको अन्त्य गर्नुपर्नेमा जोड दिएको थियो। बैठकले साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने ग्यारेन्टी गर्न माग गरेको थियो। सीमावर्ती क्षेत्रका किसानले भोग्नुपरेको सास्तीको स्थायी समाधानको माग पनि बैठकले गरेको थियो।

कांग्रेस केन्द्रीय समितिको बैठक साउन २४ गतेदेखि सुरु भएको हो। यसअघिको बैठकले ग्यास आयात बढाएर भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाल व्यवस्थित गर्न र जनतालाई राहत दिन सरकारसँग माग गरेको थियो। बैठकले ग्यासको विकल्पमा विद्युत् प्रयोग प्रोत्साहन गर्न, उपभोक्तालाई इन्डक्सन चुलोमा सहुलियत दिन र दीर्घकालीन ऊर्जा नीति लागू गर्न पनि माग गरेको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार