मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रौतहटको बस दुर्घटनामा तीनको मृत्यु, भारतको झारखण्डमा घटना

भारतको झारखण्डमा बोलबम तीर्थयात्री सवार बस ट्रकसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। मृतकहरु रौतहटको गरुडाका स्थानीय हुन्। दुर्घटनाको प्रारम्भिक कारण बस चालकलाई निद्रा लाग्नु रहेको अनुमान गरिएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
रौतहट बस दुर्घटना
Share:
१६०

भारतको झारखण्डको सतगावाँ क्षेत्रमा बोलबम तीर्थयात्री सवार बस ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ३ बजे गरुडा नगरपालिका ६ पोठियाहीबाट बाबाधाम गएको ना ६ ख १५५४ नम्बरको बस दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा गरुडा ६ पोठियाहीका ६० वर्षीय नवल किशोर जयसवाल, उनकी श्रीमती सुन्दर बाला देवी र १० वर्षीय शिवम महतो रहेको स्थानीयले बताएका छन्। बसमा करिब ४५ जना तीर्थयात्री सवार थिए।

प्रारम्भिक जानकारी अनुसार, तीर्थयात्रीहरू बासुकीनाथ दर्शनपछि देवघर हुँदै राजगीरतर्फ जाने क्रममा दुर्घटनामा परेका थिए। दुर्घटनामा बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। मालवाहक ट्रकको भारतीय नम्बर भने खुल्न सकेको छैन।

सतगावाँ प्रहरीले घाइतेहरूको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सतगावाँ थाना प्रमुख बब्लु सिंहका अनुसार, प्रारम्भिक अनुसन्धानमा बस चालकलाई अत्यधिक निद्रा लागेको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

अधिकांश मृतक र घाइते रौतहटको गरुडा ६ पोठियाहीका बासिन्दा हुन्। घटनाको खबरले पोठियाही गाउँ शोकमग्न भएको छ। मृतकका परिवार तथा आफन्तहरू थप जानकारी लिन र घाइतेको अवस्था बुझ्न भारततर्फ गएका छन्।

स्थानीयले दुर्घटनामा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउने प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्। दुर्घटनामा कति जना घाइते भएका छन् र उनीहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार