देशभरका सडक पहिरो र बाढीले अवरुद्ध भएका छन्। प्रहरी प्रधानकार्यालयका अनुसार विभिन्न जिल्लामा सवारीसाधनको आवागमन प्रभावित भएको छ।
काभ्रेपलाञ्चोक–सिन्धुलीको बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको जोखिमले साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सञ्चालन हुनेछ।
मकवानपुरको कान्ति लोकपथमा वर्षाले अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी बन्द गरिएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण अवरुद्ध छ। प्रहरीले वैकल्पिक सडक रहेको जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी–४ चारकिलो पहिरो लिपिङमा सडक भासिएको छ। रसुवाको उत्तरगया–५ खाल्टेमा सडक कटानले त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडक अवरुद्ध छ।
रुकुम पश्चिमको आठबिसकोट–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले ठप्प छ।
रुकुम पूर्वको भूमे–४ काडाबगर र धौलापहिरामा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध छ। रोल्पाको थबाङ–२ लाप्लेभिर र दबाङमा भूस्खलनले घोराही–थबाङ सहिद मार्ग दुई स्थानमा बन्द छ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
