मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कोशी कटानले श्रीलङ्का टापुका सात परिवार विस्थापित, ६ सय घरपरिवार जोखिममा

सप्तकोशी नदीको तीव्र कटानले सुनसरीको बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। चिलिया र गरैया क्षेत्रमा करिब ६ देखि ७ सय घरपरिवार प्रत्यक्ष जोखिममा रहेका छन्। नगरप्रमुख रमेश कार्कीले अस्थायी तटबन्धको प्रयास पर्याप्त नहुने बताएका छन्।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
सप्तकोशी कटान
Share:
१५२

सप्तकोशी नदीको तीव्र कटानले सुनसरीको बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नदीले निरन्तर कटान गर्न थालेपछि अति जोखिममा परेका उनीहरुलाई बसोबासको व्यवस्थासहित सारिएको नगरप्रमुख रमेश कार्कीले जानकारी दिए।

श्रीलङ्का टापुको चिलिया र गरैया क्षेत्रमा नदीले तीव्र कटान गरिरहेको छ। कटान नियन्त्रणका लागि बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकासँगै स्थानीयवासीको समन्वयमा बालुवा र सिमेन्टका बोरा भरेर अस्थायी तटबन्ध निर्माणको प्रयास भइरहेको छ।

नगरप्रमुख कार्कीका अनुसार, गत वर्ष निर्माण गरिएका १८ स्परमध्ये नौ वटा क्षतिग्रस्त भइसकेका छन्। बाँकी स्परलाई पनि नदीले कटान गरिरहेको छ। हाल स्थानीयवासी, प्रहरी र नगरपालिकाको समन्वयमा बाँस गाड्ने, नाइलनको डोरीले बाँध्ने र बालुवाका बोरा राख्नेजस्ता अस्थायी उपाय अपनाइएको छ।

उनले यो प्रयासले केही समयका लागि राहत दिए पनि ठूलो बाढी आएमा धान्न नसक्ने बताए। यो स्थायी समाधान नभएको र दीर्घकालीन रूपमा बलियो तटबन्ध निर्माण र नदी व्यवस्थापन नगरी समस्या समाधान नहुने उनको भनाइ छ।

सप्तकोशी नदीले धार परिवर्तन गरी बनाएको चिलिया टापुमा ठूलो सङ्ख्यामा बसोबास छ। यो क्षेत्र बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा फैलिएको छ। हरेक वर्ष बर्खामा नदीको बहाव बढेसँगै बाढी र कटानको जोखिम बढ्ने गरेको छ।

यस वर्ष चिलिया र गरैया क्षेत्रमा तीव्र कटानले करिब ६ देखि ७ सय घरपरिवार प्रत्यक्ष जोखिममा रहेको नगरप्रमुख कार्कीले बताए। नदीले पश्चिमतर्फ धार मोड्ने सङ्केत देखिएकाले बाक्लो बस्ती रहेको क्षेत्रमा जोखिम झन् बढेको छ।

बर्खायाममा सप्तकोशीको बाढीले श्रीलङ्का टापुको बस्ती डुबानमा पार्नुका साथै खेतीयोग्य जमिन कटान गर्ने गरेको छ। बर्सेनि नदीले जमिन र बस्ती कटान गरी जोखिम बढाए पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार