‘सुपर एल निनो’को खडेरीले जलविद्युत्, सिँचाइ र खाद्य सुरक्षामा गम्भीर असर
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को सम्भावित प्रभावसँग जुध्न तत्काल पूर्वतयारीमा जुट्न सबै निकायलाई निर्देशन दिएका छन्। आगामी ८ हप्तापछि नेपाल भित्रिन सक्ने अत्यधिक बलियो ‘सुपर एल निनो’को प्रभावले निम्त्याउने खडेरी र सुख्खायामको सामना गर्न सबै पक्ष तयार रहनुपर्ने उनको भनाइ छ।
जलवायु जोखिम गोष्ठीमा मन्त्रीको सम्बोधन
शुक्रबार जल तथा ऊर्जा आयोगको सचिवालय र जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको ‘सुपर एल निनो र जलवायु जोखिम’सम्बन्धी राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। ‘एल निनो’को प्रभाव विशेषगरी आगामी अक्टोबरदेखि फेब्रुअरीसम्म देखिने अनुमान गरिएको छ।
खडेरीले कृषि उत्पादन र पिउने पानीमा अभाव
एल निनोको प्रभावले आगामी खडेरीयाममा तराई र पहाडी भेगका किसानहरू प्रत्यक्ष मारमा पर्नेछन्। सिँचाइ सुविधामा कमी आउँदा कृषि उत्पादन घट्नेछ। यसको प्रत्यक्ष असर खाद्य सुरक्षामा पर्नेछ। केही क्षेत्रमा पिउने पानीको अभावसमेत हुन सक्ने अनुमान छ।
तत्कालिन कार्ययोजनाका लागि बैठक बोलाइने
मन्त्री श्रेष्ठले यस विषयमा थप छलफल गर्न र तत्कालिन कार्ययोजना तय गर्न सम्बन्धित निकायका प्रमुखहरूको बैठक छिट्टै बोलाइने बताए। बैठकमा ‘एल निनो’को प्रभाव सामना गर्न आवश्यक अल्पकालीन र दीर्घकालीन उपायबारे छलफल गरिनेछ।
