भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कानुनबमोजिम लालपुर्जा पाउन योग्य भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई सरकारले पाँच सय दिनभित्र लालपुर्जा उपलब्ध गराउने बताएकी छन्।
शनिबार टीकापुर पुगेर स्थानीयसँगको छलफलमा मन्त्री रावलले लामो समयदेखि बसोबास गर्दै आएको स्थानबाट सरकारले हटाउने वा डोजर चलाउने त्रास नपाउन आग्रह गरिन्। उनले कानुनअनुसार लालपुर्जा पाउने व्यक्तिको पहिचान गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।
‘जसले लालपुर्जा पाउनुपर्ने हो, कानुनसम्मत तरिकाले उसले लालपुर्जा पाउँछ। भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी सबैले लालपुर्जा पाउनुहुन्छ,’ उनले भनिन्।
मन्त्री रावलले टीकापुरका बासिन्दाले भोगिरहेको भूमि समस्या जटिल र संवेदनशील रहेको बताइन्। सबैको समस्या एउटै प्रकृतिको नभएकाले फरक–फरक ढंगबाट समाधान गर्नुपर्ने उनको धारणा थियो। कानुनी जटिलतासँग जोडिएका विषय समाधान गर्न केही समय लाग्ने उनको भनाइ थियो।
सरकार गठन भएको पहिलो दिनदेखि नै देशभरका भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि काम भइरहेको दाबी गर्दै उनले सरकारले आफ्नो कार्यकालमा घोषणा गरेको पाँच सय दिनभित्र देशभरका सुकुम्बासी समस्या समाधान गर्ने लक्ष्यअनुसार काम अघि बढिरहेको बताइन्।
नकारात्मक सूचीमा परेको जग्गालगायत अन्य भूमि समस्याका विषयमा आवश्यक कानुन तथा नीति परिवर्तन गरेर समाधान खोजिने पनि मन्त्री रावलले बताइन्। टीकापुरका स्थानीयले बुझाएको मागपत्र तथा भूमि समस्या समाधान समितिबाट प्राप्त विवरणबारे आफूले जानकारी लिएको भन्दै उनले मन्त्रालयका तर्फबाट थप प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाइन्।
मन्त्री रावलले राजनीतिक दल तथा नेताहरूले भूमिहीनका समस्यालाई चुनावी मुद्दा बनाएर जनतामा त्रास सिर्जना गर्न नहुने बताइन्। समस्या समाधानका विषयमा अनावश्यक आश्वासनभन्दा सरकारले कानुनी प्रक्रियाबाट काम अघि बढाउने उनको भनाइ थियो।
आफूलाई सम्मान गर्न हतार नगर्न पनि उनले स्थानीयवासीलाई आग्रह गरिन्। ‘पहिला तपाईंहरूको वर्षौँदेखिको समस्या समाधान हुनुपर्छ। समस्या समाधान गरेर आएपछि मात्रै तपाईंहरूले दिएको खादा र अबिर लगाउने अधिकार आफूले पाउनेछु,’ उनले भनिन्।
