NM Khabar 24 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

केवाईसी अपडेटको नाममा २ लाख १९ हजार लुटियो, बैंकको सूचना ठगसम्म कसरी पुग्यो?

राष्ट्रिय वाणिज्य बैंकमा केवाईसी अपडेट गर्न जाँदा सेवाग्राहीको एनआईएमबी बैंकको खाताबाट २ लाख १९ हजार रुपैयाँ ठगिएको छ। ठगले बैंकको कर्मचारी बनेर फोन गरी ओटीपी कोड मागी रकम ठगेको पीडितको आरोप छ। घटनामा बैंकका कर्मचारीको संलग्नताको आशंका छ।
Sunita Rai
Sunita Rai
24 August 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
बैंक ठगी
Share:

राष्ट्रिय वाणिज्य बैंकमा खाता विवरण अद्यावधिक (केवाईसी) गर्न पुगेका शेखर क्षेत्री (नाम परिवर्तन) को दुई लाख १९ हजार रुपैयाँ ठगिएको छ। २ भदौमा काठमाडौं बसुन्धरास्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा केवाईसी अपडेट गर्न गएका क्षेत्रीको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) मा रहेको रकम ठगहरूको हातमा परेको हो।

राष्ट्रिय परिचयपत्र अपडेट नगरे असोज मसान्तपछि खाता निष्क्रिय हुने सूचना पाएपछि क्षेत्री छोराका साथ बैंक पुगेका थिए। तीन वर्षदेखि निष्क्रिय रहेको खातामा एनआईडी र अन्य विवरण अपडेट गर्नुपर्ने थियो।

सेवाग्राहीका छोरा, पेसाले सिभिल इन्जिनियर, ले बुबाको तर्फबाट केवाईसी फारम भरेका थिए। फारममा ‘अन्य बैंकमा खाता भए उल्लेख गर्नुहोला’ भन्ने खण्डमा उनले बुबाको एनआईएमबी बैंकमा रहेको खाता नम्बर उल्लेख गरेका थिए। यही विवरण ठगहरूको हातमा परेपछि रकम लुटिएको क्षेत्री परिवारको आशंका छ।

फारम बुझाउँदा बैंकका कर्मचारीले फोटो पुरानो भएको भन्दै नयाँ खिचेर ल्याउन भनेपछि उनीहरू घर फर्किए। दिउँसो घरमा नयाँ फोटो टाँसेर फारम पुनः बैंकमा बुझाए।

दिउँसो करिब ३ बजेतिर क्षेत्रीको मोबाइलमा राष्ट्रिय वाणिज्य बैंकबाट बोलेको भन्दै फोन आयो। केवाईसी भेरिफाइ नभएको र तुरुन्तै नम्बर पठाउनुपर्ने अन्यथा खाता अपडेट नहुने भन्दै ठगले ओटीपी कोड माग्यो। बिहान बैंकमा दिएको विवरण अनुसार नै फोन आएको र ह्वाट्सएपमा बैंकको लोगो देखेर क्षेत्रीले ओटीपी कोड दिए। कोड दिनासाथ एनआईएमबी बैंकको खाताबाट दुई लाख १९ हजार रुपैयाँ गायब भयो।

सेवाग्राहीका छोराले यस घटनामा बैंकका कर्मचारी वा इन्टर्नको प्रत्यक्ष संलग्नता र सूचना बिक्रीबिना यो सम्भव नभएको बताएका छन्। “हामीले एनआईएमबी बैंकको खाता नम्बर राष्ट्रिय वाणिज्य बैंकको त्यही केवाईसी फाराममा मात्र लेखेका थियौँ। त्यही दिन, त्यही समयमा स्क्यामरलाई त्यो एनआईएमबीको खाता नम्बर र बुबाको फोन नम्बर कसरी थाहा भयो?” उनले प्रश्न गरे।

घटनापछि क्षेत्री परिवार प्रहरीको साइबर ब्युरो पुगे पनि अत्यधिक भीडका कारण उजुरी दर्ता गर्न सकेनन्। पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा उजुरी दर्ता गराए। हालसम्म पनि ठगले प्रयोग गरेको ह्वाट्सएप नम्बर सक्रिय रहेको र प्रहरीले ठगलाई ट्रयाक गर्न नसकेको पीडित पक्षले जनाएको छ।

प्रहरीले भने यसलाई स्क्यामरले ओटीपी कोड माग्ने तरिकाको एक रूप मानेको छ। साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीलिपकुमार गिरीले जुनसुकै बहानामा पनि ओटीपी कोड कसैलाई नदिन आग्रह गरेका छन्। उनले बैंक वा वित्तीय संस्थाले कहिल्यै पनि फोन गरेर ओटीपी कोड नमाग्ने स्पष्ट पारे।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार