विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा तेस्रो पटक विश्वासको मत लिने प्रस्ताव पेस गरेका छन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न संवैधानिक परिस्थितिअनुसार यो प्रक्रिया सुरु भएको हो।
मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मतका लागि प्रस्ताव गरेका हुन्। यसअघि २०८१ वैशाख ३१ गते उनले पहिलो पटक विश्वासको मत लिँदा ५७ मत प्राप्त गरेका थिए। २०८१ असोज २ गते दोस्रो पटकको मत विभाजनमा ६६ मत पक्षमा र १५ मत विपक्षमा परेको थियो।
९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। हालको समीकरण अनुसार मुख्यमन्त्रीको पक्षमा स्पष्ट बहुमत देखिन्छ। प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपाका १७, राप्रपाका सभामुखसहित ५ र जसपा नेपालका १ जना सांसद छन्। एमाले र नेकपा मिल्दा मुख्यमन्त्रीको पक्षमा ५७ मत पुग्ने देखिन्छ।
