धादिङको कृष्णभीर खण्डमा सडक भासिएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था गरेको छ। त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको हो।
सडक अवरोधका कारण ढुवानीमा समस्या उत्पन्न भएपछि निगमले ग्यास उद्योगीहरूसँग छलफल गरी आपूर्ति व्यवस्था मिलाएको छ। निगमका अनुसार काठमाडौं र आसपासका जिल्लाहरूमा ग्यास आपूर्ति सहज राख्नका लागि बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी र पर्सा जिल्लामा रहेका ग्यास उद्योगहरू तथा पायक पर्ने अन्य जिल्लाका उद्योगहरूसँग आवश्यक समन्वय गरिएको छ।
यस्तै, रसुवामा आएको बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेनाले उद्धार अभियान तीव्र बनाएको छ। आयोजनास्थलसम्म पुग्न सडक अवरुद्ध भएपछि सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्याएर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने काम गरिरहेको छ।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब साढे ५ अर्ब रुपैयाँ जम्मा भइसकेको छ। भदौ १० गते रसुवामा बाढी जानुअघि कोषमा २ अर्ब १७ करोड रुपैयाँ मौज्दात थियो भने बाढीपछिको ४ दिनमा करिब सवा ३ अर्ब रुपैयाँ थपिएको छ। नियमावलीअनुसार खर्च गर्नुपर्ने भएकाले हालसम्म एउटा पनि चेक काटिएको छैन।
