शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। Nmkhabarलाई प्राप्त जानकारीअनुसार शनिबार साँझ करिब ६:२० बजे सडक माथिबाट पहिरो खसेपछि सवारीसाधनको आवतजावत ठप्प भएको छ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार पहिरोका कारण उक्त सडक खण्डमा सवारीसाधन चल्न सकेका छैनन्। नजिकैको एसमोडमा पनि पहिरो गएको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
पहिरो पन्छाउनका लागि एक्स्काभेटर घटनास्थलमा पुगिसकेको छ। सडक डिभिजन प्रमुख श्रवण महताराले पहिरो पन्छाएर सवारी साधन सञ्चालनमा ल्याइने बताए।
यसैगरी, खाँडाचक्र नगरपालिका–६ को वित्ता मोडमा पनि ठूलो पहिरो गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले कर्णाली राजमार्ग तथा कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ। प्रहरी प्रमुख हिमबहादुर खत्रीले वर्षा भइरहेका बेला सडक माथिबाट पहिरो, ढुंगा तथा लेदो खस्ने सम्भावना रहेकाले जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।
