NM Khabar 7 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशी प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम तयार, प्रदेश संरचना निर्माण थपियो

कोशी प्रदेश सरकार गठन हुनुअघि नेकपा एमाले र नेकपाको कार्यदलले साझा न्यूनतम कार्यक्रम तयार पारेको छ। कार्यक्रममा प्रदेश संरचना निर्माण गर्ने नयाँ विषय थपिएको छ। सरकारले बाँकी अवधिमा प्राथमिकताका साथ काम गर्ने क्षेत्रहरू यसमा समेटिएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
7 September 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
कोशी प्रदेश साझा कार्यक्रम
Share:

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले कोशी प्रदेश सरकारका लागि साझा न्यूनतम कार्यक्रम तयार पारेको छ। कार्यक्रममा प्रदेश संरचना निर्माण गर्ने नयाँ विषय थपिएको छ।

गत साउन २५ गते बसेको दुई दलको बैठकले साझा कार्यक्रम निर्माणका लागि नेकपा संसदीय दलका नेता इन्द्र आङ्बोको संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति गरेको थियो। कार्यदलमा एमालेबाट तिलकुमार मेन्याङ्बो, तिलचन पाठक, रेवतीरमण भण्डारी र राजकुमार भण्डारी सदस्य थिए। नेकपाबाट आङ्बोसहित बाबुराम गौतम र गणेश उप्रेती सहभागी थिए।

कार्यदलले सोमबार उक्त साझा कार्यक्रम मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाउने तयारी गरेको छ। ‘एउटा अन्तिम बैठक बस्न बाँकी छ। त्यसपछि हामी यसलाई अन्तिम रूप दिएर बुझाउँछौँ,’ संयोजक इन्द्र आङ्बोले बताए। उनले केही नयाँ विषय पनि समेटिएको जानकारी दिए।

स्रोतका अनुसार कार्यक्रममा प्रदेशको संरचना निर्माण गर्ने नयाँ विषय थपिएको छ। विगतका कार्यक्रमलाई एकीकृत र व्यवस्थित गरेर ल्याउन लागिएको कार्यदल सदस्य रेवतीरमण भण्डारीले बताए। ‘कार्यदलले काम सम्पन्न गरेको छ र भोलि नै प्रतिवेदन बुझाउँछौँ। सरकारले बाँकी अवधिमा प्राथमिकता दिने क्षेत्रहरू यसको मुख्य सार हो,’ भण्डारीले भने।

उनले कार्यकाल छोटो भएकाले भइरहेका नीति, कार्यक्रम र बजेटमा उल्लेखित विषयहरूलाई प्राथमिकताका आधारमा सुत्रबद्ध गरिएको बताए। भण्डारीले कृषि, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित गरिने जानकारी दिए। ‘बजेटमा आएका विषयलाई प्रभावकारी र ठोस रूपमा कार्यान्वयन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने।

एमाले र नेकपाबीचको तीन बुँदे सहमति अनुसार कोशी प्रदेशमा सरकार विस्तार भइसकेको छ। नेकपाले भौतिक पूर्वाधार विकासमा जीवन आचार्य, सामाजिक विकासमा गीता तिम्सिना, पर्यटन, वन तथा वातावरणमा खिनु लङ्वा लिम्बू र आन्तरिक मामिला तथा कानुनमा गोम्बु शेर्पालाई मन्त्री पठाएको छ। सपना दर्जी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन्। एमालेले मुख्यमन्त्री र अधिकांश मन्त्रीलाई निरन्तरता दिएको छ। आर्थिक मामिलामा विदुरकुमार लिङ्थेप, स्वास्थ्यमा इन्द्रमणि पराजुली, कृषिमा रामदेव मेहता र खानेपानी तथा सिँचाइमा तिलचन पाठक मन्त्री छन्। स्वास्थ्य राज्यमन्त्रीमा उमाकान्त गौतम छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार