NM Khabar 8 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

खोटाङवासीको ५० शय्याको अस्पताल माग: स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ जिल्ला अस्पताल विकास समितिले ५० शय्याको अस्पताल सेवा माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। विशेषज्ञ सेवाको अभावले बिरामीलाई महँगो हेलिकप्टर चार्टर गरेर जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ। निर्माणाधीन ५० शय्याको अस्पताल भवनको काम सम्पन्न नहुँदा सेवा विस्तारमा ढिलाइ भएको छ।
Kamala Devi
Kamala Devi
8 September 2026, 8:34 pm १ मिनेट पढाइ
आकार:
खोटाङ अस्पताल माग
Share:

खोटाङ जिल्ला अस्पतालमा ५० शय्याको स्वास्थ्य सेवा तत्काल सञ्चालन गर्नुपर्ने मागसहित अस्पताल विकास तथा व्यवस्थापन समितिले कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीलाई ज्ञापनपत्र बुझाएको छ। जिल्लामा विशेषज्ञ चिकित्सक र पर्याप्त स्वास्थ्य सेवाको अभाव छ। सामान्य बिरामीलाई समेत उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ।

समितिले स्वास्थ्यमन्त्री पराजुलीलाई जानकारी गराएअनुसार, सुविधा सम्पन्न अस्पताल नहुँदा आकस्मिक उपचारका लागि निजी कम्पनीको हेलिकप्टर चार्टर गर्न रु साढे तीन लाखसम्म खर्च गर्नुपर्छ। उपचारमा ठूलो आर्थिक भार बेहोर्नुपर्ने अवस्था छ। सोमबार खोटाङ आएका मन्त्री पराजुलीलाई अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले ज्ञापनपत्र बुझाएका हुन्।

जिल्लाबासीको स्वास्थ्य अधिकार र सहज स्वास्थ्य सेवाको आवश्यकतालाई मध्यनजर गर्दै तत्काल ५० शय्याको अस्पताल प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार, चिकित्सा उपकरण, प्राविधिक जनशक्ति र प्रचलित मापदण्डअनुसारको दरबन्दी स्वीकृत गर्न माग गरिएको छ।

दिक्तेलमा निर्माणाधीन ५० शय्याको अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधार व्यवस्थापन, विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी स्वीकृत गरी पदपूर्ति गर्नुपर्ने अध्यक्ष राईले बताए। अत्याधुनिक स्वास्थ्य उपकरण तथा प्रयोगशाला सेवा विस्तार, आकस्मिक तथा विशेषज्ञ स्वास्थ्य सेवाको व्यवस्था र अस्पताल सञ्चालनका लागि आवश्यक बजेट तथा स्रोत सुनिश्चित गर्नुपर्ने मागपत्रमा उल्लेख छ।

भवनका लागि फर्निचर तथा फिक्स्चर खरिद गर्न रु २० लाख, फिजियोथेरापी उपकरणका लागि रु १५ लाख, डेन्टल सेवा उपकरणका लागि रु १५ लाख र हेमाटोलोजी तथा माइक्रोबायोलोजी प्रयोगशालाका उपकरण तथा औजार खरिदका लागि रु २५ लाख आवश्यक पर्ने समितिको ठहर छ।

मन्त्री पराजुलीले मन्त्रालय फर्किएर आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। निर्माणाधीन अस्पताल भवन निरीक्षणपछि आयोजित छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिले आर्थिक रूपमा कमजोर, दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित भइरहेको बताएका छन्।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा गुणस्तरीय, भरपर्दो र विशेषज्ञ सेवासहितको अस्पताल सञ्चालन हुन सके नागरिकले समयमै उपचार पाउनुका साथै जिल्ला बाहिर जानुपर्ने बाध्यता र आर्थिक भारसमेत घट्ने उनीहरूको भनाइ छ।

विसं २०४९ वैशाख १ गते १५ शय्या क्षमतामा स्थापना गरिएको जिल्ला अस्पताल खोटाङलाई विसं २०८२ असार २२ गते ५० शय्याको सेवा विस्तार गरिएको भनिएको थियो। कोशी प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सेवा विस्तारको घोषणा गरे पनि अहिलेसम्म उक्त सेवा उपलब्ध नभएको सेवाग्राहीहरूले गुनासो गरेका छन्।

३३ वर्षपछि ५० शय्यामा स्तरोन्नतिको घोषणा गरिएको अस्पतालका लागि निर्माणाधीन भवन अहिलेसम्म सम्पन्न नहुँदा स्थानीयले आलोचना गर्दै आएका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार