राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार प्रतिनिधिसभामा बाढीपहिरोलाई प्राकृतिक प्रकोप नभई ‘जलवायु अन्याय’ को नतिजा भएको ठहर गरे। उनले संघीय संसद्बाट ‘हिमाली जलवायु तथा विपद् आपत्काल’ सम्बन्धी विशेष प्रस्ताव पारित गर्न माग गरे। विपद्मा सर्वस्व गुमाएका नागरिकको आक्रोश स्वाभाविक भएको उनले बताए।
लामिछानेले पार्टीका सदस्यले पीडितमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गरेमा तत्काल साधारण सदस्यबाट निष्कासन गर्ने चेतावनी दिए। उनले पार्टीलाई पीडितको आँसु पुछ्ने कार्यकर्ता चाहिएको बताए।
भदौ १० को विपद्मा ज्यान गुमाएका नागरिकलाई ‘जलवायु अन्याय’ का पीडितका रूपमा स्वीकार गर्नुपर्ने लामिछानेले बताए। नेपालले कार्बन उत्सर्जनमा नगण्य भूमिका खेले पनि जलवायु संकटको मूल्य चुकाउनुपरेको उनको भनाइ थियो।
उनले संघीय संसद्का दुवै सदनबाट ‘हिमाली जलवायु तथा विपद् आपत्काल’ सम्बन्धी विशेष प्रस्ताव पारित गर्न सरकारलाई आग्रह गरे। आसन्न संयुक्त राष्ट्रसंघको महासभा र कोप सम्मेलनमा नेपालको अडान प्रस्तुत गर्नुपर्नेमा जोड दिए। पुनर्निर्माणका लागि विदेशी ऋण थप्न नहुने बताउँदै उनले अन्तर्राष्ट्रिय ‘हानि तथा नोक्सानी कोष’ बाट अनुदानमा आधारित स्रोत ल्याउन कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिए।
जोखिमपूर्ण उद्धारमा खटिएका सेना, प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र स्थानीय नागरिकको साहसको प्रशंसा गरे। विपद्को समयमा राजनीतिक दलहरूले देखाएको एकता सकारात्मक भएको उनको भनाइ थियो। राष्ट्रिय संकटमा राजनीतिक आरोप-प्रत्यारोप बन्द गर्नुपर्ने बताए।
विगतमा जस्तो यसपटक विपद्ग्रस्त क्षेत्रमा आफू नदेखिनुको कारण संस्थागत प्रणालीलाई बलियो बनाउनु भएको प्रष्टीकरण दिए। व्यक्तिको जोशभन्दा राज्यका विपद् व्यवस्थापन संस्थाहरूलाई स्रोत, साधन र प्रविधिले सम्पन्न बनाउनुपर्नेमा जोड दिए।
