सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको गेटबाहिर एक सुत्केरी महिला सडकमै शिशुलाई जन्म दिन बाध्य भएकी छिन्। ३० वर्षीया वविता पासवानले अस्पतालको गेटमै शिशुलाई जन्म दिनुपरेको घटनाले सरकारी स्वास्थ्य प्रणालीको निर्दयी र गरिबमारा चरित्र उदांगो पारेको छ।
स्थानीयका अनुसार, २-३ हजार रुपैयाँ तिर्न नसक्दा ती महिलालाई अस्पतालले भर्ना गर्न नमानेको थियो। प्रसव पीडाले छटपटाइरहेकी आमालाई अस्पतालबाट फर्काइनु अमानवीय भएको भन्दै स्थानीयले अस्पताल प्रशासनको आलोचना गरेका छन्।
अस्पताल प्रशासनले भने ‘आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क हुने भन्दै सम्झाउँदा-सम्झाउँदै बिरामी फर्किए’ भन्ने हास्यास्पद तर्क दिएको छ। तर, राति १ बजे प्रसव पीडामा पुगेकी महिला र उनका आफन्त रहरले सडकमा सुत्केरी हुन नजाने तर्क स्थानीयको छ। यो घटनाले बाहिरका निजी क्लिनिक र ल्याबसँगको सेटिङले गरिब निमुखामाथि हुने ज्यादतीलाई उजागर गरेको छ।
नेताहरू सत्ता र कुर्सीको खेलमा व्यस्त रहेको बेला सर्वसाधारणले सामान्य स्वास्थ्य सेवासमेत नपाएर सडकमै बच्चा जन्माउन बाध्य हुनु ‘समाजवाद’ र संविधानमा लेखिएको ‘निःशुल्क स्वास्थ्यको हक’ को उपहास हो। यस्तो क्रुर र निकम्मा राज्य संयन्त्रको जति भर्त्सना गरे पनि कम हुन्छ।
