NM Khabar 13 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मुस्ताङ भन्सारबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व

रसुवागढी नाका बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै १ अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ। दैनिक औसतमा ३० करोड रुपैयाँको हाराहारीमा राजस्व सङ्कलन भइरहेको छ।
Sunita Rai
Sunita Rai
13 September 2026, 5:02 am १ मिनेट पढाइ
आकार:
मुस्ताङ भन्सार राजस्व
Share:

मुस्ताङ भन्सार कार्यालयले १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ। यो आँकडा उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङको हो।

रसुवागढी–केरुङ नाका बाढीले बन्द भएपछि चीनबाट हुने मालवस्तुको पैठारी मुस्ताङ भन्सारमा ह्वात्तै बढेको छ। भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी र तातोपानी नाका बन्द हुँदा कोरलानाकाबाट चिनियाँ मालवस्तुको आयात बढेको छ।

शुक्रबार मात्रै कार्यालयले रु २७ करोड ११ लाख राजस्व सङ्कलन गर्‍यो। भदौ २२ गतेयता दैनिक औसत रु ३० करोड हाराहारीमा राजस्व सङ्कलन भइरहेको प्रमुख चुडालले बताए।

शुक्रबार ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (इभी) जाँच पास भए। भदौ १० गते रसुवागढी नाका बन्द भएपछि २५ गतेसम्म कोरलानाकाबाट ४३४ कन्टेनर र ६४१ इभी नेपाल भित्रिएका छन्।

चालु आव २०८३/८४ को साउनदेखि भदौ २५ सम्म कोरलानाकाबाट रु दुई अर्ब ३१ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ। भदौ ९ गतेसम्म १३३ कन्टेनर र १६३ इभी नेपाल भित्रिएका थिए।

विसं २०८२ भदौअघि उपल्लो मुस्ताङका लागि मात्र खुला रहेको कोरलानाका गत वर्षको भदौ ३१ देखि वैकल्पिक पैठारी नाकाका रूपमा खोलिएको थियो। तातोपानी र रसुवागढी नाका बाढीपहिरोले अवरुद्ध भएपछि यो निर्णय गरिएको थियो।

गत आव २०८२/८३ मा उत्तरी कोरलानाकाबाट रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन भएको थियो। त्यस वर्ष पैठारीतर्फ रु १४ अर्ब ४१ करोड र निकासीतर्फ रु २० करोड ५० लाख बराबरको कारोबार भएको थियो। गत वर्ष तीन हजार २२३ इभी र एक हजार ८७३ कन्टेनर जाँच पास भएका थिए।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार