NM Khabar 13 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी बाढीका १७० अनाथ बालबालिकाको संरक्षणमा कास्कीका बालगृह जुट्दै

भोटेकोशी बाढीबाट अभिभावक गुमाएका १७० बालबालिकालाई संरक्षण गर्न कास्कीका २५ बालगृह तयार भएका छन्। बालगृहहरूसँग बजेट, ठाउँ र दाताहरूको प्रतिबद्धता छ, राज्यको सहयोगको अपेक्षा गरिएको छ। बाढीबाट हालसम्म १९७ बालबालिका अभिभावकविहीन भएको प्रारम्भिक जानकारी छ।
Maya Thapa
Maya Thapa
13 September 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
अनाथ बालबालिका संरक्षण
Share:

भोटेकोशी बाढीले अभिभावक गुमाएका १७० बालबालिकालाई संरक्षण गर्न कास्कीका २५ बालगृह तयार भएका छन्। बालगृह सञ्जाल कास्कीले पोखरामा पत्रकार सम्मेलन गरी राज्यको अनुमति पाएमा बालबालिकाहरूको दीर्घकालीन संरक्षण गर्न आफूहरू तत्पर रहेको जनाएको छ।

सञ्जाल कास्कीकी अध्यक्ष शोभा पहारीका अनुसार कास्कीका बालगृहहरूले तत्काल १०८ जना र पछि थप ६२ जना गरी कूल १७० जना बालबालिकाको हेरचाह गर्न सक्ने क्षमता छ। ‘हामीसँग बजेट, बालगृहमा ठाउँ र दाताहरूको प्रतिबद्धता छ,’ पहारीले भनिन्, ‘ती बालबालिका उपलब्ध गराउन राज्यलाई आग्रह गर्छौँ।’

एसओएस दिदीबहिनी बचाऔँ संस्थाले १० जना, बालकल्याण संस्थाले ४ जना, रेन्वो चिल्ड्रेन होमले ५ जना, हिमाली बाल कल्याण संरक्षण मञ्चले १० जना, दयाको सेवा नेपालले १० जना, एशोसियसन अन्नपूर्ण नेपालले ५ जना, कोपिला बालगृहले ९ जना, हिमाली लाइफ नेपालले २० जना, सृजनशील बाल विकास संस्थाले ११ जना, असहाय:उपकार संघले ४ जना, ओम शिव शक्तिले ३ जना, आत्मनिर्भर बालआश्रमले ८ जना, साना हातहरू नेपालले १६ जना र समन्वय नेपालले २ जना बालबालिका संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन्।

गैसस महासंघका केन्द्रीय सदस्य तथा प्रादेशिक बाल अधिकार समिति सदस्य विजयकुमार प्रधानले संरक्षणको जिम्मा लिन तयार बालगृहहरू मापदण्ड पूरा गरेर सञ्चालित भएको बताए। कास्कीमा हाल ९४४ जना बालबालिका संरक्षित छन्। हालसम्म एक हजार ३ सयभन्दा बढी बालबालिकालाई परिवार र समाजमा पुनर्स्थापित गरिसकिएको छ। एक जना बालबालिकाको दीर्घकालीन संरक्षणमा कम्तीमा २५ देखि ३० लाख रुपैयाँसम्म खर्च लाग्ने उनले बताए।

सञ्जालका संस्थापक अध्यक्ष भीष्मराज पौडेलले बालगृहहरूको क्षमता र प्रतिबद्धताअनुसार नै माग गरिएको बताए। बालगृहहरूले आवश्यक स्रोतसाधनको सुनिश्चितता गरिसकेको जानकारी उनले दिए। राष्ट्रिय बाल अधिकार परिषद्, गण्डकी प्रदेशका समन्वय अधिकृत बद्री वाग्लेले मापदण्ड पूरा गरेका बालगृहहरूले क्षमताअनुसार माग गरेको पाइएको बताए।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरका १७ हजार बालबालिका शिक्षाबाट वञ्चित भएका छन्। १५ गाउँपालिकाका १९७ जना बालबालिका अभिभावकविहीन भएको प्रारम्भिक जानकारी छ। सञ्जालले प्रभावित बालबालिकाका लागि ६ लाख बराबरको आवश्यक सामग्री पनि प्रदान गर्ने जनाएको छ। यसअघि नमस्ते फाउन्डेसनले २० लाख र अन्य बालगृहहरूले ८ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेका छन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार