नक्कली भारतीय रुपैयाँ (भारु) कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’लाई भारतीय प्रहरीले सोमबार राति दशगजा क्षेत्रबाट पक्राउ गरेको छ। नेपाल-भारतको दुहवी दशगजा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो।
धनुषा प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले भारतीय सुरक्षा निकायले एक नेपाली महिलालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। उनका अनुसार धनुषाको बिदेह नगरपालिका-४ दुहवी निवासी हिरादेवी महासेठलाई भारतीय प्रहरीले पक्राउ गरेको बुझिएको छ।
केही समयअघि हिरादेवीका श्रीमान् भरत महासेठ नक्कली भारतीय रुपैयाँसहित बिहारमा पक्राउ परेका थिए। सोही घटनाको ‘नेक्सस’मा हिरादेवीलाई पनि नियन्त्रणमा लिइएको हुनसक्ने आशंका गरिएको छ।
करिब एक महिनाअघि बिहारको मधुवनी जिल्लास्थित बासोपट्टी थाना क्षेत्रको दुहवी बजारमा भारतीय प्रहरीको विशेष कार्यदल (एसटीएफ) र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले नक्कली भारतीय नोटको कारोबार भइरहेको सूचनाको आधारमा छापा मारेको थियो। सो क्रममा किराना सामग्रीको कारोबार गर्दै आएका धनुषाको बिदेह नगरपालिकाका राजीव महासेठका बुबा भरत महासेठ र उनका सहयोगी शिवकुमार राउत पक्राउ परेका थिए।
उनीहरू लामो समयदेखि विदेशीसँग मिलेर भारतीय नक्कली मुद्राको कारोबार गरिरहेको सूचना भारतीय प्रहरीलाई प्राप्त भएको थियो। पहिले महासेठ र सहयोगी राउतसँग ५० हजार रुपैयाँ बराबरको नक्कली भारतीय नोट बरामद भएको थियो। सोही सञ्जालमा भारतीय प्रहरीले राजीव महासेठकी आमा हिरादेवी महासेठ ‘चाची’ लाई नियन्त्रणमा लिएको भारतीय प्रहरीले जनाएको छ।
एक भारतीय अनुसन्धान अधिकृतका अनुसार उनीहरू लामो समयदेखि भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको सूचनाका आधारमा गत अगष्ट महिनामा कारबाही अघि बढाइएको थियो। ती अधिकृतको दावी अनुसार ५०० रुपैयाँ दरका ५० भारतीय रुपैयाँ बराबरका नक्कली नोटसहित उनीहरू पक्राउ परेका थिए।
जयनगरका डीएसपी सदानन्द कुमारले भरत र शिवलाई सार्वजनिक गर्ने क्रममा उनीहरूसँग विभिन्न कोणबाट सोधपुछ भइरहेको र सञ्जालबारे पनि अध्ययन भइरहेको बताए। उनले नक्कली नोट कहाँबाट ल्याइएको र कुन क्षेत्रमा फैलाउने तयारी थियो भन्ने पत्ता लगाउन मोबाइल फोन, सम्पर्क सूत्र र बैंकिङ कारोबारका कागजातहरूको जाँच भइरहेको जानकारी दिए।
‘महासेठ’ परिवार नै शंकाको घेरामा
‘चाचीको टोली’ भनेर चिनिने महासेठको सिंगो परिवार नै अवैध कारोबारमा संलग्न रहेको आशंका छ। प्रहरीसँगको समन्वय मिलाउने, रकम दिने-लिने कार्यमा उनीहरूको परिवार संलग्न रहेको आरोप अनुसन्धान अधिकृतहरूले लगाएका छन्।
अधिकृतहरूका अनुसार राजीवकी आमा हिरादेवी महासेठ भारतबाट अवैध रूपमा ‘ब्लेकिया’मार्फत भित्रिएको सामानको वितरणको जिम्मेवारीमा थिइन् भने बुबा भरत महासेठले भारतबाट सामान किनमेल गर्ने गरेका थिए। उनीहरूले मुख्यतः किरानाका विविध सामान, जसमा काजु, चिनी, रजनीगन्धा, मरिच, सुपारी, मदिरासहितका सरसामान ओसारपसार गर्ने गरेको प्रहरी रेकर्डमा छ।
हीरादेवीका छोरा राजीव महासेठ पनि विवादित व्यक्ति हुन्। मधेश प्रदेशका धनुषा, महोत्तरी र सिरहाका नाकाहरू निर्बाध रूपमा खुला गराउन राजीवले माथिल्लो ओहोदाका प्रहरी अधिकारीहरूसँग ‘लाइन मिलाउने’ गरेको आरोप लाग्दै आएको छ। उनी हाल फरार रहेको प्रहरी स्रोतले दावी गरेको छ।
