बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२, सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको छ। स्थानीय होटलमा दुई पक्षबीचको विवाद चक्कु हानाहानमा परिणत भएको थियो।
गम्भीर घाइते खड्काको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। खड्कालाई सुरुमा जितपुरसिमरा नगर अस्पताल पुर्याइएको थियो।
घटनामा संलग्न मुख्य आरोपित जितपुर सिमरा उपमहानगरपालिका–२ का २२ वर्षीय आयुष राईसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव अस्पतालमै राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।
